ब्यासको नाजीमा विजुली बल्यो

ब्यासको नाजीमा विजुली बल्यो

दार्चुला । ब्यास गाउपालिकामा विद्युत विस्तारको काम चलिरहेको छ । सोमबारबाट ब्यास गाउपालिका ५ नाजी गाउमा पहिलो पटक विजुली बलेको गाउपालिकाले जनाएको छ । 

७० घरधुरी रहेको नाजीमा गत बर्षबाट विद्युतको विस्तार काम चलेको र अहिले सम्मपन्न भएको ब्यास गाउपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए । नाजीको माथिल्लो भागमा गत वर्ष नै विद्युत लाइन पुगिसकेको थियो । ब्यास गाउपालिकाको केन्द्र जाने लाइनबाट विद्युत विस्तारको काम नाजीमा अहिले सकिएर गाउलेहरुले बत्ती बालिरहेका छन् । 
पुरै बस्तीमा विद्युत लाईन विस्तार भएर अहिले हाउस वाईरिङ् र मिटर जडान गरेका घरपरिवारले बत्ती बालेका छन् ।

ब्यास गाउपालिका ५ का वडाध्यक्ष मंगलसिह धामीका अनुसार अहिले २२ घरधुरीले मात्र मिटर जडान र वाईरिङ गरेको हुनाले उनीहरुको घरमा बत्ती बलेको छ । बाकी रहेका घरधुरीहरुलाई वाईरिङ गरी मिटर जडान गरेर बत्ती बाल्न अनुरोध गरिएको उनले बताए । 

राष्ट्रिय प्रसारण लाइन विस्तार गरि पहिलो पटक गाउमा विद्युत पुग्दा स्थानीयमा खुसी छाएको छ । वर्षौदेखि टुकीको सहारामा रात काट्दै आएकाले अब विजुलीले सजिलो हुने नाजीका स्थानीय विरसिह धामीले बताए । 

व्यास गाउपालिका अध्यक्ष बुढाथोकी र वडा नम्बर ५ का वडाअध्यक्ष धामीले बत्ती बाली उद्घाटन गरेको हुन् । ब्यास गाउपालिका अध्यक्ष बुढाथोकीले एक हप्ताभित्र पुरै नाजीबासीले विद्युत बाल्न पाउने गरी व्यवस्थापन भईरहेको बताए ।

गाउपालिकाको केन्द्र सुन्सेरासम्म जेठको अन्तिममा विद्युत विस्तार गर्ने लक्षयअनुरुप लाईन विस्तारको काम भईरहेको उनको भनाई छ । ब्यास गाउपालिका ४ स्थानीयबासीले पनि अबको एक महिनाभित्र विद्युत बाल्न पाउने छन् ।