दार्चुला : दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको व्यक्तिगत सुरक्षाको अवस्थालाई ध्यान दिदै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । नियन्त्रण रहेका आठै जनालाई अहिले जिल्ला सदरमुकाम ल्याइरहेको प्रहरीले जनाएको छ ।
‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ , लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए ।
जसले गर्दा कोरोनाको खतरा समेत बढ्यो, विष्टले भने, स्थानियहरुले समेत उनीहरुलाई प्रवेशमा बाधा पुगाएको हुदा उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको हो ।” उनीहरु नेपाली झण्डा लिएर कालापानी लिपुलेक तिर लागेका थिए ।