कैलालीमा चोरीका दुई वटा कार सहित एक जना पक्राउ

कैलालीमा चोरीका दुई वटा कार सहित एक जना पक्राउ

धनगढी : कैलालीमा चोरीका दुईवटा कार सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले  धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडी बाट चोरीका कार सहित युवकलाई पक्राउ गरेको हो ।

दाङको तुलसीपुर नगरपालिका–५ न्युरोड घर भइ धनगढी–१ वसन्त टोल बस्दै आएका १६ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

जेठ ३ गते धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका राजेन्द्रबहादुर मल्लले घर अगाडि सडकमा पार्किङ गरी राखेको अवस्थामा बा ८ च २१०० नम्बरको कार र जेठ ७ गते राति सोही ठाउँका रविन्द्र देव भट्टको घरको आँगनमा राखेको होन्डाई कम्पनीको बा १४ च ४७८१ नम्बरको गाडी चोरी भएको थियो ।

सो विषयमा अनुसन्धान गर्दै जादा सार्कीलाई पक्राउ गरिएको बस्नेतको भनाइ छ । साथै उनको साथबाट नगद सहित  दुई थान मोबाइलसमेत बरामद् गरिएको प्रहरीले जनाएको छ ।