सञ्चारकर्मीको देउसीभैलोबाट रु चार लाख ५५ हजार

सञ्चारकर्मीको देउसीभैलोबाट रु चार लाख ५५ हजार

बैतडी। संस्कृति संरक्षण गर्ने उद्देश्यले बैतडीका सञ्चारकर्मीले खेलेको देउसीभैलोबाट रु चार लाख ५५ हजार सङ्कलन भएको छ । आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला बैतडीका सञ्चारगृह तथा सञ्चारकर्मी संस्कृति संरक्षणमा जुटेका थिए । 

रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्ज बैतडीको आयोजनामा उक्त देउसीभैलो कार्यक्रम आयोजना गरिएको थियो । तिहारको उपलक्ष्यमा पुचौर्डी नगरपालिकास्थित राताशिला त्रिवेणीधामबाट शुरु गरिएको देउसीभैलो कार्यक्रम बैतडीसहित दार्चुलाका विभिन्न ठाउँमा खेलिएको थियो । पयर्टन प्रवद्र्धनका लागि देउसीभैलो समूह दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा रहेको मल्लिकार्जुन राष्ट्रिय धाममा पुगेको थियो । 

यसअघि रेडियोहरुले विभिन्न संस्कृति संरक्षणका लागि समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेकामा यसपालि तिहारको उपलक्ष्यमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको हो । देउसीभैलोलाई मनोरञ्जनका लागि मात्रै लिने गरिएको भन्दै सञ्चारगृहले संस्कृति जोगाउनका लागि देउसीभैलो खेलेको जनाएका छन् । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताउनुभयो । 

युवापुस्ताको संस्कृति संरक्षणमा ध्यानाकर्षण गर्न देउसीभैलो आयोजना गरिएको रेडियो सेभेन स्टारका अध्यक्ष अमर भट्टराईले जानकारी दिनुभयो । उक्त देउसीभैलो कार्यक्रममा जिल्लाका करीब दुई दर्जन सञ्चारकर्मी सहभागी रहेका थिए ।