कैलालीमा कोरोना भाइरसका कारण केरा कृषक घट्दै

कैलालीमा कोरोना भाइरसका कारण केरा कृषक घट्दै

कोरोना भाइरसको जोखिम बढेपछि यस वर्ष कैलालीमा केरा खेती विस्तार गर्ने किसान न्यून देखिएका छन् । केरा खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदै आएको टीकापुरमा यस वर्ष नयाँ केरा खेती गर्ने किसान घटेका हुन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष १२० हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार गर्ने लक्ष्य थियो । आयोजनाको अनुदान सहयोग रहे पनि किसानका माग कम भएकाले ३१ हेक्टरमा मात्र केरा खेती विस्तार हुने भएको छ ।

कोरोना भाइरसको जोखिम रहेकाले यस वर्ष किसानले रुचि नदेखाएको बाली संरक्षण अधिकृत मिलन गैरेले बताएका छन् । ‘‘लक्ष्यभन्दा ज्यादै न्यून क्षेत्रफलमा खेती विस्तार हुने भएको छ’’, बाली संरक्षण अधिकृत गैरे भने, ‘‘लकडाउनका कारण केराले बजार पाएन, त्यसको असर नयाँ खेती विस्तारमा समेत परेको हो ।’’ खेती विस्तारका लागि सार्वजनिक सूचनानुसार ५२ जना किसानका माग परेका थिए जसमा मापदण्ड पुगेका २७ छनोट भए ।

यस्तै आयोजनाले ड्रिप इरिगेशन प्रविधिसहित १८ हेक्टरमा खेती गर्न आठ किसान छनोट गरी खेती विस्तार गरेको छ । केरा खेतीका लागि टिस्यु कल्चरको उन्नत जात रोप्न आयोजनाले बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सूक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गर्ने उनले बताएका छन् ।