'लकडाउन'को कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

'लकडाउन'को कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । 

कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्रै यति धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् ।

‘गुजरात प्रदेशभरिमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,’ होटल तथा रेस्टुरेन्ट एसोसिएशन गुजरातका प्रवक्ताले भने । प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भए पनि धेरै विवाह स्थगित भएका छन् । तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् । 

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ ।  सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भए पनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाइ छ । 

‘मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतिक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुन सक्ने देखिएको छ,’ एक व्यवसायीले भने । 

सरकारले लागू गरेको मापदण्ड पूरा गरेर मात्रै विवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।  

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्यून सहभागिता भएको कसले चाहन्छ र रु त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाइ छ ।