कैलालीका सबै वनमा आज देखि ढुवानी र कटानी बन्द

कैलालीका सबै वनमा आज देखि ढुवानी र कटानी बन्द

धनगढी : कैलालीमा आज देखि रुख कटानी र काठ ओसारपसार बन्द हुने भएको छ । जिल्लाका वन डिभिजन कार्यालयहरुले आजदेखि रुख कटान र काठको ओसारपसार पूर्ण रुपमा बन्द हुने हुने बताएका छन ।

यसअघि संघीय मन्त्रीपरिषद्को बैठकले नै लकडाउनमा रुख कटानको नाममा दुरुपयोग बढेको भन्दै तत्कालका लागि रुख कटान, ढुवानी र ओसारपसार बन्द गर्ने निर्णय गरेको थियो ।

संघीय वन तथा वातावरण मन्त्रालयले सात वटै प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई परिपत्र गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार सोही निर्देशन अनुसार आजदेखि कटान र ढुवानीको काम पूर्ण रुपमा बन्द हुने जानकारी दिए ।

उनले आजदेखि जिल्लामा कटानी र ढुवानीको काम रोक्न निर्देशन दिईसकेको बताए । उनले धनगढी डिभिजन अन्तरगत ३० वटा सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भईरहेको बताए ।

सरकारले जारी गरेको लकडाउनको समयमा जिल्लामा अवैध रुपमा रुख कटानी र काठको तस्करी बढेको आरोप लाग्दै आएको थियो । जिल्लाभर बैज्ञानिक बन व्यवस्थापनका नाममा बनजङ्गल फडानी भइरहेको भन्दै स्थानीय बिरोध जनाउदै आएका थिए ।