को हुन नयाँ सामाजिक मन्त्री सुवेदी ? बर्खास्त गरिएपछि सोडारीले के भने ?

को हुन नयाँ सामाजिक मन्त्री सुवेदी ? बर्खास्त गरिएपछि सोडारीले के भने ?

कैलाली  : सुदूरपश्चिम प्रदेश सरकार गठनसगै सभामुखदेखि मन्त्री हुने चर्चामा रहेका कृष्णराज सुवेदी अन्ततः मन्त्री बनेका छन । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकाश मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सुवेदीको मन्त्री बन्ने सपना पुरा भएका हो । 

कांग्रेसका हिरा दत्तभट्टलाई ४ हजार २ सय १९ मत अन्तरले विजयी भई सांसद बनेका सुवेदीको चर्चा सभामुख, मन्त्रीदेखि विषयगत समितिका सभापतिसम्म चलेको थियो । 

मन्त्रीबाट बर्खास्त गरिएका सोडारी पनि माधव नेपाल पक्षका भएका कारण सुवेदीले मन्त्रीमा मौका पाएको नेकपा निकट स्रोतले बताएको छ । सुवेदी पनि नेपाल निकट हुन । 

तत्कालिन नेकपा एमाले कैलालीका सचिवालय सदस्य रहेका सुवेदी स्पष्ट वक्ताका रुपमा चिनिन्छन । 
नेकपाका नेता तथा सुदूरपश्चिम ईचार्ज भिम रावलसगै अछाममा राजनीति सुरु गरेका सुवेदी पुराना नेता हुन । 

सोडारीलाई बर्खास्तपछि नयाँ सामाजिक विकाश मन्त्रीमा सुवेदीले केही वेरमा सपथ खादैछन । 
 

बर्खास्त गरिएपछि सोडारीले के भने ? 

मन्त्री बाट फिर्ता बोलाइएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन । 

सोडारीले भने, ‘म पार्टीको जिल्ला (कैलाली) अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई चित्त बुझेको थिएन् । मन्त्री बनेपछि उनीहरुले मेरो साना साना कुराहरुलाई इस्यु बनाउँदै लविङ गरे । म पार्टीको इमान्दार कार्यकर्ता हु । विगतमा पार्टीले मन्त्री बनाएको थियो । अहिले पनि माननीय नै छु । प्रदेशको विकासमा सहयोग निरन्तर जारी रहनेछ ।’

उनले आफ्नो स्थानमा आउने सुवेदीलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । 
आफ्नो नौं महिने कार्यकालको समीक्षा गर्दै सोडारीले आफूले प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वयनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रममलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरेका छन । 

तिहारको बेला गौरीगंगा नगरपालिकाको बडैपुरमा मन्त्री सवार गाडी दुर्घटना भएपछि उनको सर्वत्र आलोचना भएको थियो । 

पद अनुरुपको आचरण नगरेको, पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेको, अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भुमिका खेलेको आरोप सोडारीलाई लगाईएको छ ।