दिपायल विमानस्थलमा सैनिक विमानबाट परीक्षण उडान

दिपायल विमानस्थलमा सैनिक विमानबाट परीक्षण उडान

डोटी : कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको विमानले पहिलोपटक परीक्षण उडान गरेको छ।

नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलट सुवर्ण विष्टको टोलीले पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारेकले जनाएको छ ।

सैनिक जहाजले एअरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परीक्षण उडान गरेको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए।

उनले भने, “हाम्रो जहाजले हावाको मापन गर्न एअरपोर्टको दुईतिरकै ठाउँबाट परीक्षण उडान गरेको छ, दुवै मोहडाबाट जहाज सहज तरिकाले अवतरण गर्न सफल भएको छ ।”

दिपायल विमानस्थल नेपालका अन्य विमानस्थलभन्दा राम्रो वातावरणको भएको र यहाँ जुनसुक्कै समयमा पनि जहाज उडान तथा अवतरण गर्न सहज हुने आज परीक्षण उडान भर्ने नेपाली सेनाका चालक दलका सदस्यले बताएका छन्।

विमानस्थलमा परीक्षण उडान गरेपछि दिपायलमा हवाइ सेवा चल्ने आशामा यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका(४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए।

लामो समयदेखि यात्रु अभावका कारण देखाउँदै बन्द अवस्थामा रहेको विमानस्थल डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नतिको काम गरिएको हो।

करीब साढे ५ करोड लगानीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नति सम्पन्न भएको सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए।