पीसीआर मेसिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तह

पीसीआर मेसिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तह

कञ्चनपुर : कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरू पीसीआर मेसिन खरिदका लागि अग्रसर देखिएका छन्। 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले पीसीआर मेसिन खरिदका लागि रकम विनियोजन गरेर प्रक्रिया अघि बढाएका हुन्। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म यहाँका नौवटै जिल्लामा गरी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नौ हजार २९४ स्वाब मात्रै सङ्कलन गरिएको छ। जसमध्ये सात हजार ७७७ जनाको परीक्षा भइसक्दा १५५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। 

प्रदेशमै एकमात्रै पीसीआर प्रयोगशाला धनगढीमा स्वाबको चापका कारण नयाँ नमूना सङ्कलन रोकिएकोमा आज साँझबाट शुरू भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा एक हजार ५१७ वटा स्वाबको परीक्षण हुन सकेको छैन। 

कोरोना सङ्क्रमण जोखिम बढेको भन्दै बझाङका पालिका मिलेर पीसीआर मेसिन जिल्लामा भित्र्याएर कोरोना परीक्षणको दायरा बढाउने गृहकार्यमा जुटेका छन्। 

बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बझाङका प्रत्येक पालिकाले दशदेखि पन्ध्र लाख रूपैयाँका दरले रकम सङ्कलन गर्ने बताए। 

“जिल्ला समन्वय समिति र नगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाखका दरले रकम सङ्कलन गरेर १ असारभित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय भएको छ” अध्यक्ष उपाध्यायले भने, “तत्काल प्रयोगशाला स्थापनाका लागि खरिद प्रक्रिया अघि बढाइनेछ।” 

बझाङका क्वारेन्टाइनमा तीन हजार १४४ जना क्वारेन्टाइानमा बसिरहेका छन्। सोमध्ये ३२४ जनाको मात्रै स्वाब सङ्कलन गरिएको छ। बझाङमा १२ पालिका रहेका छन्। 

त्यसैगरी बाजुराको बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले आरडीटीको भर पर्दा सङ्क्रमण जोखिम झन् बढेको बताए।

“हामीले पनि पीसीआर मेसिन खरिद गरेर जिल्लामा कोरोना प्रयोगशाला स्थापनाका लागि रु ३० लाख बजेट छुट्याएका छौँ” नगरप्रमुख शाहले भने, “प्रयोगशालाको जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण नै छ।”     

बाजुरामा पाँच हजार २२३ जना क्वारेन्टाइनमा रहे पनि हालसम्म कोरोना परीक्षणका लागि ४५० जनाको मात्रै स्वाब लिइएको छ।

“राज्यले जनशक्ति व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नबनाउँदा समस्या छ” उनले भने “यहाँका सात पहाडी जिल्लामा अहिलेसम्म यो स्तरको प्रयोगशाला कही पनि स्थापना भएको छैन।”     

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि सदरमुकाममा पीसीआर मेसिन खरिदका लागि पहल गरेको छ। भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सङ्क्रमणको उच्च जोखिम देखिनुका साथै सङ्कटसित लड्न पीसीआर मेसिन आवश्यकता रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइएको बताए। 

“खरिद प्रक्रियाको नियमावलीमै रहेर प्रक्रिया अघि बढाएर असारभित्रै स्थापना गर्ने गृहकार्यमा छौँ” नगरप्रमुख विष्टले भने, “प्रयोगशाला सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिनेछौँ।” 

२७ जेठमा भीमदत्त नगरपालिका कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एव समन्वय समितिको बैठकले मेसिन अतिआवश्यक रहेको भन्दै खरिद गर्ने निर्णय गरेको थियो।     

त्यसैगरी, डडेल्धुराको अमरगढी नगरपालिकाले पनि डडेल्धुरा अस्पतालमा स्थापना गरिने कोरोना परीक्षण प्रयोगशालाका लागि २० लाख रूपैयाँ दिने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँदले बताए।

“मेयरबाट यो विषयमा पहल भएर प्रक्रिया अघि बढेको छ” साउँदले भने, “यहाँका अन्य स्थानीय तह र निकायसित पनि प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न अपिलसमेत गरेका छौँ।”     

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीका अनुसार धनगढीमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक २५० भन्दा बढी परीक्षण गर्न सकिँदैन। 

“प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाएर असार १५ गतेभित्रै सञ्चालनको तयारीमा छ” निर्देशक डा। अवस्थीले भने, “अहिले एउटामात्रै प्रयोगशाला हुँदा परीक्षणको चाप धेरै भयो।”    

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका एक हजार ८१३ स्थानमा क्वारेन्टाइन बनाएर भारतलगायत अन्यत्रबाट आएका नागरिकलाई राखिएको छ। हालसम्म क्वारेन्टाइनमा ६५ हजार ९९१ बसिरहेका छन् तर कोरोना परीक्षण भने नौ हजार २९४ को मात्रै भएको छ। 

पछिल्लो जेठ महीनामा मात्रै कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकीबाट भारतका विभिन्न क्षेत्रबाट ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन्।