गुडिरहेको मोटरसाईकलमा काटिरहेको रुखको हाङ्गा खस्यो

गुडिरहेको मोटरसाईकलमा काटिरहेको रुखको हाङ्गा खस्यो

कंचनपुर : कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा से ६ प ३३८९ नम्बरको मोटरसाईकलमा काटिरहेको हाङ्गा खसि दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको छ भने उनका ३० वर्षीय बुवा ज्ञानेन्द्र खड्का घाइते भएका छ्न । छोरी जेनिसाले सधै झै मोटरसाईकलमा घुमाउन भनेपछि बिहानै करिब साढे ६ बजेको समयमा मालुबेला रैकवार सडकखण्डमा निस्कीएका दुवैजना बुवाछोरी  बिहानी पखको स्वच्छ हावाको आनन्द लिदै  यात्रा गरिरहेका बेला एकाएक सडकको माथिबाट रुखको हाङ्गा उनको मोटरसाईकलमा खसेको थियो । दुर्घटना भए लगत्तै दुवै जना गम्भीर घाईते भएपछि उनीहरुलाई उद्दार गरेर तत्काल धनगढीको माया मेट्रो अस्पताल पुगाइएको थियो 
तर उपचारकै क्रममा उनकी दुई वर्षीय छोरीले संसार छाडिन ।  बुबाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको बताए।
 मृतक बालिकाका बुवा ज्ञानेन्द्र खड्काको अवस्था पनि गम्भीर भएकाले अस्पतालले अन्यत्र रिफरका लागि सुझाव दिएको उनले बताए ।

 कञ्चनपुर प्रहरीले भने यस  घटना सङ्ग सम्बन्धित दुइजना लाई पक्राउ गरेको छ। उक्त मालुबेला सडकमा रुखमा चढेर हाङ्गा काटिरहेका ५० वर्षीय प्रकाश चौधरी र ग्वासी विद्युत सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले बताए। उनका अनुसार चौधरीले काटेको हाङ्गा मोटरसाईकलमाथि खस्दा दुर्घटना भएकाले उनी र अध्यक्ष कार्कीलाई पक्राउ गरिएको थापाले बताए। घटनाको थप अनुसन्धान गरि कारबाही गरिने समेत प्रहरीले जनाएको छ।