पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डोटीमा दुई हजार जनालाई घर पठाइयो

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डोटीमा दुई हजार जनालाई घर पठाइयो

डोटी : भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ।

आजसम्म क्वारेन्टाइनबाट घर पठाइएकामध्ये एक हजार ८०० पुरुष तथा २०० महिला छन्। उनीहरू सबैको आरडीटी तथा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरू भारतबाट रोजगारी गरी आएका दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआई सिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी तथा आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

“कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वारेन्टाइनमा बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजारभन्दा बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइनेछ”, उनले भने।

भारतबाट डोटी आएका १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एकजना कोरोनामुक्त भएर घर फर्किएका छन।