बाजुरामा लकडाउन समयमा बढ्यो वन्यजन्तुको तस्करी

बाजुरामा लकडाउन समयमा बढ्यो वन्यजन्तुको तस्करी

बाजुरा : लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी तस्करी बढेको छ। बडीमालिकाको मार्तडी क्षेत्र, गौमूला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, छतारा, कैलाशमाडाैं, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, डोगडी, हिमालीको रुगिनलगायतका दर्जनौँ गाउँमा वन्यजन्तुको चोरी तस्करी बढेको छ।

जिल्लाका धेरैजसो जंगल क्षेत्रतिरका गाउँका स्थानीय शिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जंगल जाने गरेको स्थानीयस्तरबाटै गुनासो आउन थालेको छ।

२७ जेठमा मात्र त्रिवेणी नगरपालिकाको मौरेमा एक मृगलाई गाउँलेले घेरा हालेर मारेका थिए। मृगलाई कसले मारेको हो, को-को संलग्न थिए, उनीहरूको खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले बताए।

अहिले जिल्लाका विभिन्न ठाउँका जंगलमा खुलेआम चोरी-शिकारी भइरहेको हिमाली गाउँपालिका-३, बौडीका स्थानीयवासी धनमल विकले बताए। उनले जंगलमा गएर दुर्लभ तथा नेपालको राष्ट्रिय जनावर डाँफे, कालिज, बँदेल, कस्तुरीमृग, घोरललगायतको शिकार हुने गरेको जानकारी दिए। 

शिकार खेल्न स्थानीयवासीको समूह एक-दुई हप्तासम्म जंगलमा नै बस्ने गर्छन्। जंगलमा गएर भरुवा बन्दुकको प्रयोग तथा अन्य पासोको समेत प्रयोग गरेर जनावर मार्ने गरेको बताइएको छ। कसैले कुकुरहरू प्रयोग गरेर मृगको शिकार गर्ने गरेका छन्।

जिल्लाका घनाजंगल भएका ठाउँ बडिमालिका, बूढीनन्दा र खप्तड राष्ट्रिय निकुञ्ज नजिक बढी चोरी शिकारी हुने गरेको पाइएको छ। वन्यजन्तुको शिकार गरी जिल्लाका विभिन्न स्थानीय हाटबजार र गाउँमा समेत बिक्री गर्ने गरेको पाइएको डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको बताएको छ।

सदरमुकाम मार्तडीमा समेत डाँफे र मुनालको प्रतिकेजी एक हजार ५०० देखि दुई हजार तथा कालिज एक हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ।

त्यस्तै बँदेल, घोरलको प्रतिकेजी ५०० मा कस्तुरी मृगको मासु प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एकजना शिकारीले बताएका छन्। 

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले भने चोरी शिकारी बढ्ने सम्भावना भएकाले सबै ठाउँमा रहेका प्रहरीलाई जानकारी गरिसकेको र जंगलतिर पनि ‘सर्च अभियान’ गरिरहेको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ।