दार्चुला कारागारको सुरक्षार्थ नेपाली सेना खटियो

दार्चुला कारागारको सुरक्षार्थ नेपाली सेना खटियो

दार्चुला : जिल्ला कारागार दार्चुलाको सुरक्षा नेपाली सेनालाई दिइएको छ । कोरोना महामारीका बेला प्रहरी नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टीनको सुरक्षामा केन्द्रित भएकाले कारागारको सुरक्षामा सेना खटाईएको हो ।

गत विहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय बमोजिम आजबाट कारागारको सुरक्षार्थ सेना खटिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए ।

यसअघि कारागार सुरक्षामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ११ जना प्रहरी खटिएका थिए । प्रहरीको संख्या कम भएपछि स्थानीय प्रशासनले कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले बताए ।

अहिले क्वारेन्टीन, शान्ति सुरक्षा लगायत अपराधिक क्रियाकलापमा खटिने प्रहरीको अभाव भएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको जिम्मा नेपाली सेनालाई दिइएको उहाले बताए । आजबाट कारागारको सुरक्षार्थ ११ जना नेपाली सेना खटिएका छन् ।

सिमानाकामा सशस्त्र प्रहरी र महत्वपूर्ण आयोजना, प्रतिष्ठानमा सेना खटाउने सरकारी निति अनुरुप नेपाली सेना खटिन लागेको गुल्मपति थापाले बताउनु भयो । यस्तै असार ५ गतेदेखि शैल्यशिखर—१ बँलाचमा रहेको चमेलिया जलविद्युत आयोजनामा ४० जनाको संख्यामा नेपाली सेना खटिने समेत उहाले बताए ।