सुदुरपश्चिम प्रदेश सरकारको बजेट प्रति निजी क्षेत्रको असन्तुष्टि

सुदुरपश्चिम प्रदेश सरकारको बजेट प्रति निजी क्षेत्रको असन्तुष्टि

धनगढीः सुदुरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड ४८ लाख बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शिक्षा स्वास्थ्य कृर्षि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

साना तथा मझौला उद्योगहरुका लागि चित्त बुझ्दो बजेट ल्याएपनि ठुला उद्योगहरुका लागि भने त्यो पर्याप्त नहुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बताएका छन । बजेटमा निजी क्षेत्रलाई सन्तोषजनक रुपमा समेट्न नसकेको भन्दै निजी क्षेत्रका व्यवसायी तथा व्यापारीहरुले गुनासो गरेका छन् । 

त्यसैगरी पर्यटन क्षेत्रको पुर्वाधार विकास एवम पर्यटन प्रवद्धन शिर्षकमा १ करोड ५० लाख रुपैया बजेट छुट्याईएको छ । पर्यटन क्षेत्रको तिव्र विकासका निम्ती यस क्षेत्रका प्रमुख पर्यटकिय स्थलहरुको गुरु योजना समेत तयार पारिएको छ । 

आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर प्रदेश सरकारका निम्ती बजेट कार्यान्वयनको पक्ष जटिल समस्याका रुपमा स्थापित भएको छ । प्रदेश सरकारले जति नै बजेट ल्याएपनि बजेट कार्यान्वयनको पक्ष अति महत्वपुर्ण हुने उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बताए । 

विगत तिन महिना देखी जारी लकडाउनका कारण व्यापार व्यवसाय बन्द हुँदा व्यवसायीहरुले करोडौँको नोक्सान वेहोर्नु परेको बताएका छन । ठुलो नोक्सान वेहोर्न बाध्य भएका व्यवसायीहरुका लागि प्रदेश सरकारले राहात हुने खालका कार्यक्रम नल्याएको भन्दै प्रस्तुत बजेट प्रति व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन ।

निजी क्षेत्रलाई न संघिय सरकारले समेट्न सक्यो न त प्रदेश सरकारले भन्दै उद्योग वाणिज्य महासंघ सुदुरपश्चिमका अध्यक्ष शंकर बोगटीले गुनासो गरे । साथै उनले प्रदेश सरकारको बजेट परम्परागत शैलीको भएको पनि आरोप लगाएका छन ।  

यस्तै सुदुरपश्चिम प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका निम्ती भन्दै सुदुरपश्चिमको पहिलो पर्यटकिय गन्तव्य खप्तड पर्यटन विकास र रामारोसन पर्यटन विकास समीतीका लागि भन्दै ४ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।

तर नेपाल एसोसियसन अफ टाभल एजेन्ट्स (नाटा) सुदुरपश्चिमका अध्यक्ष माया प्रकास भट्टले भने खप्तड क्षेत्रका लागि छुट्याईएको यो बजेट हातीको मुखमा जिरा जस्तै भएको बताएका छन । कर्मचारी व्यवस्थापनमै आधा खर्च हुने भन्दै उनले बिनियोजित बजेट अर्थहीन भएको आरोप लगाए ।

साथै सरकारले पुरानै योजनामा बजेट बिनियोजन गरेको तर नयाँ गन्तव्यको खोजी नभएकोले यसरी कुनै हालतमा पर्यटन क्षेत्रको विकास सम्भव नहुने भट्टको भनाई छ । सरकारले ल्याएको यस प्रकारको असन्तुलित बजेटका कारण निजी क्षेत्र धरापमा मात्र होईनन विस्थापित हुने अवस्थामा समेत पुगेका छन ।