सुदूरपश्चिम प्रदेश सरकारले कोरोना विशेष कार्यक्रम नआएको काँग्रेसको आरोप

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना विशेष कार्यक्रम नआएको काँग्रेसको आरोप

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष ०७७/०७८ को बजेटमा जनताको भावना नसमेटिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाएको छ।  

सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कोरोना महामारीले भयावह अवस्था सिर्जना भइरहेका बेला  नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन नसकेको बताउनुभयो।

उहाँले बजेटको उद्देश्य र बनावट हेर्दा राम्रो देखिए पनि बढी प्रचारमुखी भएको बताउँदै ससाना योजनामा रकम छुट्टयाएर  कनिका छरे जस्तो भनी आपत्ति जनाउनुभयो। डा रावलले भन्नुभयो, “कोरोनाबाट आक्रान्त प्रदेशको बजेटमा कोरोना विशेष कार्यक्रम र जनताको जीविका सुनिश्चित गर्ने योजना छैन। ”

बजेटले झन्डै तीन महिना लामो बन्दाबन्दीबाट अस्तव्यस्त जनजीवन सामान्य बनाउने कुनै पनि कार्यक्रम नल्याएको, प्रदेशको कृषि क्षेत्रमा क्रान्ति ल्याउने तथा बाँझो जग्गामा खेती गर्ने खालका कुनै पनि नयाँ योजना नआएको, कोरोना महामारीका कारणले रोजगारी गुमेर प्रदेशभित्र लाखौँ युवा जनशक्ति भित्रिए पनि उनीहरूलाई समेट्ने कुनै पनि रोजगारमूलक कार्यक्रम नल्याएको डा रावलको टिप्पणी छ।

समग्रमा बजेटले सुदूरपश्चिमका जनताको भावना र मर्मलाई नसमेटेको र  कार्यान्वयनमा समस्या हुने  डा रावलको भनाइ थियो।  सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले रु ३३ अर्ब ३८ करोडको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो।