कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेसन कक्ष’

कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेसन कक्ष’

कैलाली : कैलालीका स्थानीय तहहरूले कोरोना संक्रमितको स्थानीय तहमा नै उपचार गर्न आइसोलेसन निर्माण गरेका छन्।

घोडाघोडी, टीकापुर, गौरीगंगा र लम्कीचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आइसोलेसन निर्माण गरिसकेका छन्।

घोडाघोडी नगरपालिकाले स्थानीय घोडाघोडी क्याम्पसमा २० शय्याको आइसोलेसन वार्ड बनाएको छ।

एकजनामा कोरोना संक्रमण पुष्टि भइसकेको र ७० जनामा आरडीटी पोजिटिभ देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा दिँदै  आइसोलेसन निर्माण गरिएको नगर प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए।

टीकापुर अस्पतालमा १२ शय्या छन्। अस्पतालमा रहेका शय्या अपुग हुने स्थिति देखिएपछि टीकापुर नगरपालिकाले नजिकैका केही  स्थानीय तहको समन्वयमा पुरानो सिटी हललाई ५० शय्याको आइसोलेसन कक्ष बनाएको छ।

स्थितिको आकलन गरेर आइसोलेसन थपिएको र ५० शय्याले पनि नपुगे थप व्यवस्थापन गरिने नगर प्रमुख तपेन्द्र रावलले बताउँछन्।

गौरीगंगा नगरपालिकाले ५० शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ।

चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सकसहितको सेवा रहेकाले नगरपालिकाले अक्सिजन र नेबुलाइजर सेवासहितको आइसोलेसन वार्ड बनाएको उपप्रमुख अन्चला चौधरीले जानकारी दिइन्। 

स्थानीयस्तरमा सञ्चालित होटेल मुनवुन भिल्लालाई लम्की चुहा नगरपालिकाले  २५ शय्याको आइसोलेसन बनाएको छ।

सुदूरपश्चिममा कोरोना परीक्षण र व्यवस्थापनको नयाँ मापदण्ड स्वास्थ्य निर्देशनालयले तोकेपछि स्थानीय तहहरू आइसोलेशन निर्माणमा जुटेका हुन्।

कोरोनाको संक्रमण देखिएकाहरूलाई अहिले स्थानीय तहले बनाएका आइसोलेसनमा राखेर उपचार गरिँदै आइएको छ।