तिव्र गतीमा संक्रमण फैलिन थालेपछि सुदुरपश्चिमका स्थानिय तहहरु धमाधम सिल गरिँदै

तिव्र गतीमा संक्रमण फैलिन थालेपछि  सुदुरपश्चिमका स्थानिय तहहरु धमाधम सिल गरिँदै

धनगढी : सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्न थालेपछि यहाँका स्थानिय तहहरुमा एक पछि अर्को गर्दै सिल गर्ने लहर चलेको छ । भारतबाट घर फर्किने क्रम जारी रहेको र भरपर्दो स्वास्थ्य परीक्षण नहुँदा सुदुरपश्चिममा कोरोना संक्रमणको गति निकै तिव्र बनेको छ ।

संक्रमण अत्याधिक मात्रामा फैलिन थालेसँगै यहाँका स्थानिय तहहरु संक्रमणको खतरालाई कम गर्न सिल गर्नुपर्ने अवस्थामा पुगेका हुन । यहाँका मुख्य व्यापारिक केन्द« र जिल्लाका सदरमुकाम क्षेत्रमा भिडभाड कायमै रहेकोले जोखिम कमगर्नका लागि सिल गर्न थालिएको हो । 

पछिल्लो केही दिन यता दैनिक सयौँको संख्यामा संक्रमित थपिन थालेका छन । देशभर संक्रमितको संख्या साढे ९ हजार बढी पुग्दा सुदुरपश्मिचममा पनि १ हजार भन्दा बढी संक्रमित फेला परेका छन । यो तथ्याङक हेर्दा सुदुरपश्चिममा नसोचेकै अनुपातमा संक्रमितको संख्या बढ्न थालेको छ ।

कैलालीको गोदावरी नगरपालिकामा पनि तिव्र गतिमा कोरोना संक्रमण बढ्दै जाँदा र एक जनाको मृत्यु नै भईसकेपछि हाल गोदावरी नगरपालिका सिल गरिएको नगरपालिकाकी नगर उप–प्रमुख रत्ना कडायतले बताईन । 

हाल सम्मको तथ्याङक अनुसार सुदुरपश्चिममा कैलाली पछि सबै भन्दा बढी संक्रमित डडेल्धुरामा फेला परेका छन । संक्रमितको संख्या बढेपनि यहाँका स्थानिय पालिकाहरुले भने चरम लापरवही देखाएका छन । डडेल्धुरामा कहिले क्वारेनटाईनबाट त कहिले आईसोलेसन बाट भाग्ने समस्या भने कायमै रहेको छ । 

स्थानिय तहका जनप्रतिनीधीहरुले भागेकाहरुलाई छोपेर ल्याउने काम त गर्छन तर भाग्नुको कारण पत्ता लगाई त्यसको समाधान तर्फ भने कसैको ध्यान नगएको देखिएको छ । जिल्लाको अमरगढी नगरपालिकाले भने संक्रमणको अत्यन्तै जोखिम रहेको भन्दै नगरक्षेत्र सील गरेको छ । अमरगढी नगरपालिका संगै अन्य पालिकामा पनि संक्रमितहरु भएकोले जिल्ला सदरमुकाममा आवत जावत बढेकोले सम्भावित जोखिमलाई कम गर्नका लागि  सिल गरिएको नगर प्रमुख विशेश्वर प्रशाद ओझाले बताए ।  

सुदुरपश्चिममा संक्रमितको संख्या अकल्पनिय स्वरुपमा वृद्धि हुनुको एउटै कारण हो सरकारको ढिलासुस्ती र लापरवाही । भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षणमा गम्भीर लापरवाही, समयमा स्वास्य सामग्रीको पर्याप्त उपलब्धता नहुनु र पछिल्लो समय स्वास्थ्य मन्त्रालयको निर्देशिकाको आधारमा रिपोर्ट नआउँदै घर पठाउन थालेपछि आईसोलेसन र क्वारेन्टाईमा बस्नुपर्ने संक्रमित व्यक्तिहरु काममा व्यस्त हुन थालेका छन । 

बैतडीमा पनि कोरोनाको अत्याधिक जोखिम बढपछि पाटन नगरपालिकाले अनिश्चत कालका लागि भन्दै सिल गरेको छ । भने अन्य स्थानिय तहहरु समेत सील गर्ने चरणमा रहेका छन । संक्रमित व्यक्तिहरुले नै सचेतना नअपनाउँदा नगरपालिका सील गर्नुभएको नगर प्रमुख केशव बहादुर चन्दको भनाई छ ।

यता कैलालीको गौरीगंगा नगरपालिकाले पनि बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गरी आज देखी नगर क्षेत्रलाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । गौरीगंगा नगरपालिकाका प्रवक्ता एवम वडा नं. ३ का वडाअध्यक्ष नरेन्द« बहादुर शाहले कैलालीका अन्य स्थानिय तहभन्दा बढी जोखिम रहेकोले सिल गरिएको बताएका छन ।  

कोरोना संक्रमणले सुदुरपश्चिममा भयावह र संत्रासकै रुप लिन थालेपछि केही समय अगाडी लकडाउन मात्रै रोकथामको उपाय होईन भन्नेहरु नै आज लकडाउनको थप कडाई गर्नुपर्ने पक्षमा उभिएका छन । त्यसैगरी सुदुरपश्चिमका विभिन्न जिल्लाका सदरमुकाम क्षेत्र र बढी आवत जावत हसने क्षेत्रहरु सिल गरिएका छन भने नभएका पालिकाहरुमा सिल गर्ने तयारी भईरहेको छ ।