नाकामा सेवा गर्दाको खुशी र अनुभव

नाकामा सेवा गर्दाको खुशी र अनुभव

कयौं कष्ट सहेर भारतबाट स्वदेश फर्किने क्रममा सीमानाकामा नेपालीहरू अलपत्र परेका  समाचार आइरहेका थिए । कैलालीको गौरीफन्टा नाका हुँदै नेपालीहरू देश फर्कने क्रम पनि बढन थालेको समाचारहरूबाट थाहा पाएँ ।

कामका सिलसिलामा भारत जानुभएका मेरा आफन्तहरूको फोन आउन थाल्यो । उहाँहरूले खानु न पिउनु धेरै कठिन यात्रा गरेर नाकातिर आइरहेको बताउनुभयो । त्यति बेला हजारौं मान्छे आइरहेका थिए । कति त मेरै पहाडका मान्छे पनि आइराखेका थिए । उनीहरूसित कुरा हुन्थ्यो । कसैले छ-सात दिनसम्म अन्न खाएको छैन भने ।

त्यसपछि हामी गौरीफन्टा नाका गयौं । त्यहाँ मानिसको बिजोक भएको देख्यौँ । भारतको मुम्बई, गुजरात, हरियाणा लगायतका विभिन्न शहरहरूबाट आएका मानिसहरू गौरीफन्टा नकामा थिए । त्यो भीडमा साना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती पनि थिए ।

उनीहरूको अवस्था देख्दा मन सारै भारी भयो । सहयोग गर्नेहरू त थिए तर एक जाना मान्छेले कति सहयोग गर्न सक्छ र । यस्तो बेला सबैले हातेमालो गर्दे अघि बढ्नुपर्छ भन्ने ठान्यौँ हामीले ।

सीमानाकामा अलपत्र परेका केही नेपालीहरूलाई उद्धारपछि नवदुर्गा माध्यमिक विद्यालयमा राखिएको र त्यहाँ पनि उनीहरू भोकभोकै भएको थाहा पायौँ । त्यसपछि युवाहरूको समूह रोयल कोलारेटिभ्स धनगढी र निसर्ग अस्पताल प्राइभेट लिमिटेडको संयुक्त पहलमा नाकामा आइपुगेका नेपालीलाई हामीले निःशुल्क खाना खुवाउने अभियान सुरु गर्‍यौं ।

त्यसपछि सहयोग गर्नेहरू थपिनुभयो । अहिले नेपालगन्ज मेडिकल कलेज र सामाजिक संस्था फिल द बकेट पनि जोडिएका छन् यस अभियानमा । उनीहरूले पेपर प्लेट, रासन दिन्छन् । बाँकी खर्च हामी टिमबाट मिलाएर गर्ने गर्छौं ।

चार-पाँच दिन लगाएर यहाँ आइपुगेका मानिसहरूले यहाँबाट आफ्नो घर जानुपर्छ । त्यसका लागि १०–१५ घण्टा बसको यात्रा गर्नुपर्छ । बाटोमा खाना पाइँदैन, पाइए पनि खानेकुरा दिन मानिस डराउँछन् । भारतबाट आएको भनेपछि मानिसले छिछि दुर्दुर गर्छन् ।

रोयल कोलाबोरेटिभ्स युवाहरूको समूह हो । यो स्थापना भएको ३ वर्ष हुन लाग्यो । हामी विभिन्न कार्यक्रम आयोजना गर्ने गर्थ्यौं । मिस फारवेष्ट पनि गर्‍यौं । त्यसका सहभागीहरूलाई पनि सामाजिक काममा अग्रसर गराउने गर्थ्यौं ।

हामीले निःशुल्क कपडा घर भनेर पनि खोलेका छौं हसनपुरमा, जहाँ मानिसहरूले कपडा दिन्छन् । ती कपडा अति विपन्न मानिसलाई निःशुल्क बाँडने गर्छौं । समाजमा केही सहयोग पुगोस् भन्ने लक्ष्यका साथ हामी यस्ता काममा लागेका हौं ।

अहिले हामी अरू काम छोडेर गौरीफन्टा नाकामा खाना खुवाउने काममा लागेका छौं । म मात्रै नभएर मेरा टिमका साथीहरु देवेन्द्र जोशी , दिनेश शाह ,इन्द्र बिनाडी , रचित शाह हामी सबै लागिपरेका छौ । उहाँहरुको साथ बिना म एक्लैले यो काम अघि बढाउन सक्त्तैन थिए ।  ४–५ हजार मान्छेलाई बिहानदेखि बेलुकासम्म दिनहुँ पकाउनुपर्ने हुनाले हामीले कुक खोज्यौं ।

कोरोनाको बेला सबैलाई डर हुन्छ । त्यसैले हामीले कुक भएको ठाउँमा अरू कोही आउँदैनन्, कुकको काम खाना पकाउने मात्रै हो । खाना पस्कने, बाँडने काम हामी आफै गर्छौं भन्यौं । त्यसपछि हामीले पाँच जना कुक पायौँ । अहिलेसम्म उनीहरू हामीसँगै छन् ।

हामी बिहानै ८ बजे नाकामा पुग्छौं । कुकहरू खाना पकाउन थाल्छन् । १० बजेसम्ममा खाना तयार हुन्छ । चिल्लो पिरो नभएको दाल भात तरकारी पकाउँछौं । हामी बाटोवारि हुन्छौं उहाँहरू पारि । हामी खानाका पेपर प्लेट त्यहाँ भएको टेबलमा राखदिन्छौं ।

एकअर्काबाट टाढा बसेर २–२ जना पालैपालो खाना लिन आउनुहुन्छ । डस्टबिनको पनि व्वस्था गरेका छौं । सरसफाइमा पनि ध्यान दिन्छौं हामी । खाना प्रायः बिहानको १० बजेदेखि साँझको ५ बजेसम्म पाक्छ ।

हामीलाई समय अझै बढाउन त मन थियो तर दिनभर खाना पकाउँदा पकाउँदै कुक थाक्छन् भनेर त्यसो गर्न सक्दैनौँ । उनीहरू दिक्क मानेर भोलिपल्टदेखि आइदिएनन् भने आपत् पर्छ । हामीले उनीहरूलाई दिनको ५ हजार ज्याला दिन्छौं ।

सुरुमा खाना बाँडदा धेरै अप्ठेरो भयो । भोकले पनि होला उहाँहरूलाई व्यवस्थित गर्न गाह्रो भयो । प्रशासनले पनि खाना खान दिने ठाउँमा भीड धेरै भयो भनेर खाना बाँड्न दिन दिएन । त्यो पनि ठिकै हो जस्तो भयो । तर हामीभन्दा ठूलो सरकार हो ।

त्योभन्दा ठूलो अहिलेको अवस्थामा भोक हो । सरकारले चाह्यो भने व्यवस्थित तरिकाले खाना खुवाउन सक्थ्यो नि । तर खोइ रु सरकारले मात्र गर्नुपर्छ भन्ने खेजेको पनि होइन, तर नागरिकले आफ्नो ठाउँबाट केही काम गर्न खोज्दा सहयोग गर्ने कि हुन्न भनेर काम रोक्ने रु तैपनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भनेर हामी लाग्यौं ।

वरपरको डोकेबजारका टोलवासीले त्यो बेला खाना खान दिनुपर्छ भनेर हाम्रा लागि बोलिदिनुभयो, सहयोग गर्नुभयो । त्यसपछि प्रशासनका मान्छेहरूले हामीले राम्रो काम गरिराखेको कुरा बुझे । हामीप्रति उनीहरू अलि नरम भए ।

चार(पाँच हजार मान्छेलाई व्यवस्थित राख्न गाह्रो छ । तर हामी र टोलवासी सबै मिलेर सहयोग गरिराखेका छौं । लाइन लगाउनेदेखि लिएर बाटोमा भीडभाड गर्न नदिने, सरसफाइ गर्ने काम सबै काममा सहयोग गरिराखेका छौं ।

नाकामा मान्छेलाई खाना खुवाउन लागेदेखि हामी घर गएका छैनौँ । तारानगरमा रहेको हाम्रो अफिसको सबैभन्दा माथिको तलामा अलगै बस्छौं । हामीले अरू साथीहरूलाई पनि भेटेको छैन । राति फर्कन्छौं अनि खाना पकाएर खान्छौं । बिहानको खाना चाहिं हामी मेसमा खान्छौं । नाकामा आइपुग्नु भएकाहरूले जे खाना खानुहुन्छ हामी पनि त्यही खान्छौं ।

सुरुमा मेरी मम्मीले यस्तो काममा किन लागेको भनेर गाली गर्नुहुन्थ्यो । धेरै रुनुहुन्थ्यो मम्मी फोनमा कुरा गर्दा । घर आइज भनेर दाइ र भाउजूले पनि भन्नुहुन्थ्यो । कोरोनाको समाचारले त्रसित भएका थिए मेरो घरपरिवार । उहाँहरू त्रसित हुनु ठीकै पनि हो ।

मैले आफना घरका मान्छेलाई सम्झाउने कोसिस गरेँ — त्यस्तो केही हुन्न, आफ्नो ख्याल गर्न सक्छु, स्वस्थ छु भनेर । तैपनि आमाको मन न हो एकदम चिन्ता गर्नुहुन्थ्यो । अहिले भने खुसी हुनुहुन्छ मेरो घरपरिवार । राम्रो काम गरिराखेको छ भनेर रुने पनि धेरै गर्नुहुन्न । राम्रैसँग गफगाफ हुन्छ ।

परिवारलाई अरू बेला खुसी पार्न नसके पनि अहिलेको कामले खुसी पार्न सकेको छु । त्यसले गर्दा म आफू पनि धेरै खुसी छु । मसँगै अरू साथीभाइका घरकाले पनि साथ दिइराख्नुभएको छ । देश विदेशमा बस्ने साथी र आफन्तले पनि सुरक्षित बस्न सल्लाह दिनुहुन्छ । धेरै राम्रो काम गरिराखेको छौ भनेर हौसला दिनुहुन्छ ।

हामी आफ्नो कामबाट सुन्तुष्ट छौं । प्रचण्ड गर्मी र झरीमा पनि नेपालीहरू स्वदेश भित्रिने क्रम अहिले पनि जारी छ । मौसम जस्तोसुकै भए पनि हामीले खाना खुवाउने काम रोकेका छैनौं । हामी राति सुत्ने बेला आज यति मान्छेले खाना खाए भनेर कुराकानी गर्छौं र एकदम खुसी लाग्छ अनि दिनभरिको दुःखपीडा बिर्सन्छौं ।

मेरो टिममा यसरी कहिल्यै काम नगरेका, प्लेट नै नउठाएका साथी पनि छन् । तर कुराकानी हुँदा आज कति प्लेट गयो रु कति चामल सकियो रु अब कति बाँकी छ भनेर कुराकानी गर्नुहुन्छ । उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । जति बढी सर्भ गर्न पायो त्यति बढी खुसी हुन्छौं हामी ।

हामीलाई डर पटकै लागेको छैन । लागेको भए हामी पनि घरभित्रै हुन्थ्यौं होला । अब त बानी भइसक्यो । दिनहुँको रुटिन जस्तो । कहिलेकाहीं साथीभाइ राति बस्दा कसैले ह्याँछु गर्‍यो वा कोही खोक्यो भने त्यतिखेर चाहिँ डर लाग्छ ।

केही भई पो हाल्यो कि भनेर हाँसो गर्छौं । कोरोना सम्बन्धी केही लक्षण कसैमा नभएकाले पनि हामीले चेकअप गरेका छैनौं । हामी सबै बिहान योग गर्छौं । स्वस्थ खाना खान्छौं । आत्मबल कहिल्यै कम हुन दिएका छैनौं । एकअर्कालाई हौसला दिइराख्छौं ।

लकडाउनका बेला ब्लड बैंकमा रगत संकलन नहुँदा समस्या परेपछि हामीले धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँमा ९ दिनसम्म घुम्ती रक्तदान कार्यक्रम गर्‍यौं। गर्भवती महिला, सुत्केरी तथा विपन्न परिवारलाई राहत दिन पनि लाग्यौं हामी ।

अति विपन्न सुत्केरीलाई पोषणयुक्त खानाको अभाव हुन नदिन सुरक्षित मातृत्व सन्जालको समन्वयमा आमा बचाऊ, मानवता जगाऊ अभियान अन्तर्गत हामीले २५० जनाभन्दा बढीलाई खाना बाँड्यौँ ।

यो अभियान चलाएका बेला नाकामा यस्तो दुर्दशा देखेपछि हामी त्यता लाग्यौं तर सुत्केरी महिलाहरूका लागि अझै पनि सहयोग गरिरहेका छौं ।

खाना खुवाउन सुरु गरेको एक हप्ता पछिदेखि भारतबाट आएका नेपालीहरूलाई आफन्तसँग सम्पर्क गर्न सजिलो होस् भनेर सीमाक्षेत्र डोकेबजारमा निःशुल्क फोन सेवा सञ्चालन गरेका छौं । निःशुल्क आकस्मिक फोन सेवा पनि दिएका छौँ ।

यस्तो अवस्था कहिलेसम्म रहन्छ, थाहा छैन । तर यो अवस्था रहेसम्म हामी सेवाबाट पछि हट्ने कुरा आउन्न । सहयोग गर्नेहरू धेरै हुनुहुन्छ । हामी त माध्यम मात्र हौं । जीवनमा अहिलेसम्म गरेको ठूलो काम यो हो जस्तो लागेको छ । यसअघि फजुलमा समय बिताएका रहेछौँ भन्ने महसुस भएको छ ।

समय साँच्चै बलवान् रहेछ । समयको महत्व पनि हामीले बुझ्यौं । पैसा मात्रै भएर काम हुन्न रहेछ । यस्तो समय आउला भनेर कहिल्यै कल्पना पनि गरेको थिएन । कोरोनाले धनी र गरिब वा पैसा भएको नभएकोहरू भनेर छुट्याएको छैन । मान्छेदेखि मान्छे डराउने समय आएको छ । योभन्दा ठूलो विपत् के आउला र अब ?

जे होस महामारीको यस्तो सन्त्रासका बीचमा पनि हाम्रो यस अभियानलाई विभिन्न मनकारी महानुभावहरूले सहयोग गर्नुभएको छ । उहाँहरूप्रति आभारी छौं ।

यो कथा  रोयल कोलाबोरेटिभ्स धनगढीका अध्यक्ष, गजेन्द्रविक्रम शाहीसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।