कैलालीमा बजार अनुगमन घट्यो, उपभोक्ताहरु ठगिँदै

कैलालीमा बजार अनुगमन घट्यो, उपभोक्ताहरु ठगिँदै

धनगढी : सुदुरपश्चिममा कोरोना बढ्दै गयो, तर नियमित रुपमा हुने बजार अनुगमन भने घट्दै गएको छ । बजार अनुगमन घटेसँगै उपभोक्ताहरु भने विभिन्न वाहानामा ठगिँदै आएका छन । पछिल्लो दुई साता यता बजार अनुगमन कार्यले तिव्रता नपाउँदा आम उपभोक्ताहरु अधिकासं व्यापारीहरुबाट ठगिन बाध्य भएका हुन । 

जसोतसो सहरी क्षेत्रहरुमा भईरहेको अनुगमन कार्य पनि अहिले पुर्ण रुपमा रोकिएको छ । तर पछिल्लो समय उपभोक्ताहरु ठगिएको गुनासो आउने क्रम घटेको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय धनगढीले जनाएको छ ।

वाणिज्य कार्यालयका प्रमुख कमल बहादुर पुन मगरले पछिल्लो समय तिव्र गतिमा फैलिदैँ गएको कोरोना संक्रमणका कारण अनुगमनमा जाने उचित वातावरण नभएको बताए । यसका साथै आफुहरुसँग सवारी साधनको अभाव र पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई निरन्तरता दिन नसकेको उनले बताए । 

लकडाउनमा सबै पसलहरु नखुल्ने हुँदा व्यापारीहरुले उपभोक्तहरुको बाध्यताको फाईदा उठाउन थालेका छन । उपभोक्ताहरुले  पनि सामान खरिद बिक्री गर्दा बिषेश चनाखो हुनुपर्ने र ठगिएको खण्डमा सम्बन्धीत निकायलाई जानकारी गराउन कार्यालय प्रमुख पुनले आग्रह गरे ।

लकडाउनको सुरुवाती चरणमा कडाईका साथ बजार अनुगमन गरीरहेका निकायहरु अहिले भने फितलो सक्रियता देखाईरहेका छन । अघिल्लो महिना सम्म नियमित अनुगमनमा लागि परेका निकायहरु पछिल्लो दुई हप्ता यता भने अनुगमनमा जानै छाडेपछि बजारमा फेरी कालो बजारी र अखाद्य वस्तुको विगविगी बढ्न थालेको छ । गुणस्तर तथा नापतौत कार्यालय  धनगढीका प्रमुख दिपेन्द« रोकायाले पनि अहिले भने बजारमा केही हदसम्म कालोबजारी र अखाद्य वस्तुको बिक्री वितरणमा कमी आएको बताए । 

धनगढी उपमहानगरपालिका क्षेत्रमा विगत दुई साता देखी रोकिएको बजार अनुगमन कार्यले निरन्तरता नपाउँदा बजारमा उपभोक्ताहरु ठगिने गरेको जनगुनासो बढ्न थालेको छ । बजारमा गुणस्तरहीन र अखाद्य वस्तुहरुको बिक्री वितरण भईरहँदमा पनि नियन्त्रण भने हुन सकेको छैन ।

खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय धनगढीका निमित्त प्रमुख दीपक कुवरले कर्मचारी अभावका कारण सेवा प्रवाहमा ढिलाई भईरहेको गुनासो गरेका छन ।  बजार अनुगमन गर्ने सबै निकायहरुमा कर्मचारी अभाव रहेको पाईएको छ । जसका कारण अनुगमन फितलो हुन गई उपभोक्ताहरु ठगिने गरेको छन ।