असिष्टेन्ट पुष्पा साउद : म एक्लै १७ क्वारेन्टाईन सम्हालिरहेकी छु

असिष्टेन्ट पुष्पा साउद : म एक्लै १७ क्वारेन्टाईन सम्हालिरहेकी छु

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकामा भारतबाट सयौंको संख्यामा सर्वसाधारण भित्रिएपछि कोरोना संक्रमणको उच्च जोखिम बढेको छ । 

“म एक्लैले १७ वटा क्वारेनटाईन हेर्नुपर्छ कहाँकहाँ धाउनु, दिनभरी हिड्दा हिड्दै खुट्टा दुख्छन ।” यो गुनासो हो, बाजुरा त्रिवेणी नगरपालिकाकी ल्याब असिस्टेन्ट पुष्पा साउदको । त्रिवेणी नगरपालिकाले चार वडाका २६ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । २६ क्वारेन्टाइनमध्ये १७ क्वारेन्टाईको रेखदेख उनी एक्लै गर्छिन ।  
बिहान ५ बजे देखी राती ११ बजे सम्म एक्लैले काम गर्नुपरेको उनले बताईन । घरपरिवारको माया लाग्छ तर आफनो ज्यान हत्केलामा राख्दै काम गर्दै आएको भएतापनि पाउनुपर्ने जोखिम भत्ता र अन्य सेवा सुविधाबाट भने वञ्चित भएको साउदले गुनासो गरिन् ।  

दिनभरी क्वारेन्टाईनमा बसेकाहरुको चेकजाँच र रेखदेखमै उनको दैनिकी बित्छ तर कोरोना संक्रमणको अत्यन्तै जोखिम भएकोले घरमा समेत जान नपाएको साउदको भनाई छ । दिनभर काम गर्ने र स्वास्थ्य कार्यालयमै वास बस्ने गरेको उनले बताईन । १७ वटा क्वारेन्टाईनमा आफु एक्लैले धान्न नसक्ने बताएपनि नगरपालिकाले कुनै चासो नदेखाएको उनले आरोप लगाईन ।   

आफनो ज्यानको प्रवाह नगरी दिनरात सेवामा खटिएका स्वास्थ्यकर्मीको हौसला र मनोबल बढाउनु त परै जाओस स्वास्थ्यकर्मीहरु माथि उल्टै कुटपिट र दुव्यवहार हुने गरेका छन । ल्याब असिस्टेन्ट साउदले नगरपालिकाका ४ वडामा स्थापना गरिएका क्वारेन्टाईहरु अत्यन्तै जोखिमयुक्त रहेको बताउँदै आफनो स्वास्थ्य परीक्षण भने समयमा नभएको गुनासो गरिन् । साथै उनले जोखिम भत्ता पाउनुपर्ने भन्दै नगरपालिकासँग माग गरिन् ।  

त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले भने नगरपालिका भित्र खटिएका स्वास्थ्यकर्मीहरुका लागि कोरोना स्वास्थ्य बिमा कार्यक्रम ल्याउने तयारी भईरहेको जानकारी दिए । नगरपािलकाका ९ वडाहरुमा ३ जना स्वास्थ्यकर्मी मात्रै परिचालन गरिएको छ । नगरप्रमुख रावलले जागिर खानेले कष्ट पनि त भोग्नै पर्यो भन्दै स्वास्थ्यकर्मीहरुको पिडालाई वेवास्ता गरे ।  

असिस्टेन्ट पुष्पा साउदले मात्र नभई पहाडी जिल्लाका अधिकासं स्थानमा स्वास्थ्यकर्मीहरुले भोग्दै आएको समस्या यस्तै नै हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मीहरु विभिन्न कारणले पिडित भईरहेका छन । अझ जनशक्तिको अभावमा निश्चत  समय भन्दा बढी काम गर्नु त स्वास्थ्यकर्मीका लागि सामान्य जस्तै भएको छ ।