निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाण्डौ लगियो

निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाण्डौ लगियो

धनगढी : बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको मानसिक अवस्था खराब बन्न थालेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । 

१४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि शनिवार उपचारका लागि काठमाडौं लगिएको हो ।  

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शकर बहादुर विष्टका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं गएका छन ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुवर कठायतले भने, ‘हामीले काठमाण्डौ पठाउनका लागि भर्खरै महेन्द्रनगरबाट गाडीमा धनगढी पठाएको छौ । धनगढीबाट बाट साढे ६ बजे बुद्ध एयरको फ्लाईटमा निर्मलाका बुबासहित आफन्त काठमाण्डौ जानु हुने छ ।’

धर्नामा बसेका परिवारका सदस्यसहित अधिकारकर्मीहरुसँग जिल्ला प्रशासन कार्यालयमा शुक्रबार साँझ त्यस बारेमा छलफल समेत गरिएको थियो । 

यज्ञराजले केही दिनदेखि धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए । 

फोटो : उज्यालो अनलाईन