प्लेनमा जान नमानेपछि निर्मलाका बुबालाई सुरक्षाकर्मी सहित गाडीमा काठमाण्डौ लगिदै

प्लेनमा जान नमानेपछि निर्मलाका बुबालाई सुरक्षाकर्मी सहित गाडीमा काठमाण्डौ लगिदै

धनगढी : बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराजलाई गाडीबाट काठमाण्डौ लगिने भएको छ । 

छोरीका हत्यारालाई कारबाही गर्न माग राख्दै धर्नामा बसेका पन्तको मानसिक अवस्था असन्तुलित बन्न थालेपछि उपचारका लागि शनिवार बेलुकी साढे ६ बजे बुद्ध एयर मार्फत काठमाण्डौ लग्ने तयारी थियो । त्यसका लागि उनलाई धनगढी विमानस्थलमा ल्याईएको थियो । 

तर, उनले प्लेनमा जान मानेनन् । ‘विमानस्थल पुगाईएका पन्तले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि काठमाडौँ लिन सकिएन । बुद्ध एयरको प्लेन गईसक्यो ।’ पन्तसगै विमानस्थलमा रहेको अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘कैलालीका प्रमुख जिल्ला अधिकारीले गाडी पठाईदिन्छु भन्नुभएको छ । अव गाडीबाटै भएपनि रातारात काठमाण्डौ लिन्छौ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सुरक्षाकर्मी सहित गाडी पठाउन लागिएको बताए । 
उनले गाडीको व्यवस्था भईसकेको समेत जानकारी दिए ।