बैतडीमा लकडाउनले किताब अभाव ! विद्यार्थीले घरमै पनि पढ्न पाएनन्

बैतडीमा लकडाउनले किताब अभाव ! विद्यार्थीले घरमै पनि पढ्न पाएनन्

बैतडी : बैतडीमा पाठ्यपुस्तक अपुग भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अपुग भएका हुन्। कक्षा ६ देखि ८ सम्मका अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र कम्प्युटर विषयका पाठ्यपुस्तक अभाव भएका हुन्।  

ढुवानीको जिम्मा पाएको पुस्तक पसलले लकडाउनका कारण ल्याउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए।  लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुले घरमै बसेर पनि अध्ययन गर्न पाठ्यपुस्तक नहुँदा समस्या भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए।  

वैशाखमै किताब पुग्नुपर्ने भए पनि लकडाउनका कारण शैक्षिक सत्र नै सुरु नभएको अवस्थी बताउँछन्। शैक्षिक सत्र पनि सुरु नभएको र भर्ना अभियान पनि सुरु नभएकोले पाठ्यपुस्तक ल्याउन पनि ढिलाइ भएको उनले बताए।  साउन १ गतेदेखि भर्ना अभियान र साउन १५ गतेदेखि कक्षा सञ्चालन गर्ने भनिए पनि सरकारले निर्णय नगर्दा अन्योल बढेको प्रमुख अवस्थीले बताए।

सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक दिँदै आएको छ।  बैतडीका कक्षा १ देखि ५ सम्मका ३ सय ३६ विद्यालयमा ३७ हजार ४ सय ९५ विद्यार्थी अध्ययनरत रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए।

यस्तै कक्षा ६ देखि ८ सम्मका १ सय ५ विद्यालयमा १९ हजार १ सय ३२ विद्यार्थी, कक्षा ९ र १० का ७१ विद्यालयमा ११ हजार ६ सय ३३ विद्यार्थी र कक्षा ११ र १२ का ५० विद्यालयमा ३ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत छन्।