नेपाल भारत सीमामा गोली चल्यो, गोली लागि एक युवक सहित प्रहरी घाइते

नेपाल भारत सीमामा गोली चल्यो, गोली लागि एक युवक सहित प्रहरी घाइते

सुनसरीमा प्रहरीको गोली लागि एक जना घाइते भएका छन्। सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आउका २० वर्षीयका सहजव जट घाइते भएका हुन्। पेटमा गोली लागेका बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। तस्करीको विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो।

'उनीहरुको समुहले तस्करीको विषयमा विवाद भएपछि प्रहरीको हतियार खोस्न खोजे, ढुङ्गा प्रहार भयो । त्यसपछि प्रहरीले गोली चलाएको हो।' जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले भने।

घटनामा प्रहरी जवान जिवराज विसङ्खे पनि घाइते भएका छन्। दुबै जनाको  धरानमा उपचार भइरहेको छ। बिहिवार मात्र सुनसरीकै  सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको थियो। 

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका थिए। देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका थिए। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको थियो।