पूर्वडीआईजी कोइरालाविरुद्धको मुद्दा पुनरावलोकनको लागि अनुमति

पूर्वडीआईजी कोइरालाविरुद्धको मुद्दा पुनरावलोकनको लागि अनुमति

आफ्नै श्रीमतीको हत्या अभियोगमा  कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्धा अघि बढाउन सर्वोच्चले अनुमति दिएको छ । सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका थिए । जसअनुसार बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलाशमा पेशी परेको थियो । 

सोअनुसार इजलासले प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीले कोइरालाको सजाय घटाउने भनि गरेको फैसला पुनवरावलोकनका लागि अनुमति दिएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

तर उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चले रञ्जनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय तोक्ने र सम्पत्ति जफत नगर्ने निर्णय गरेको थियो । गएको असार १५ गते प्रधानन्यायाधीश राणा र केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाइदिएको थियो । 

सर्वोच्चको फैसलालगत्तै सरकार उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिन पुगेको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो । इजलासले अनुमति दिएसँगै यो मुद्दा फेरि अघि बढ्ने भएको छ ।