विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सुदूरपश्चिम प्रदेश सरकारको निर्देशन

विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सुदूरपश्चिम प्रदेश सरकारको निर्देशन

धनगढी : विदेशबाट आएका सबै व्यक्तिहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न सुदूरपश्चिम प्रदेश सरकारले मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। 

केही स्थानीय तहले संस्थागत क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइनमा पठाइएको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले नेपाल भित्रिएका सबै व्यक्तिहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो। 

क्वारेन्टाइनमा पाँच दिन पुरा भएका सबै जनाको स्वाब छैटौ दिनमा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी वा डडेल्धुरा अस्पतालमा पठाउने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ। 

स्वाब जाँचको नतिजा प्राप्त भएपछि मात्र नतिजाको आधारमा पोजेटिभ भएमा १४ दिन क्वारेन्टाइनमा अथवा आईसोलेसनमा बस्ने व्यवस्था मिलाउन पनि निर्देशनालयले भनेको छ। उक्त व्यक्तिको नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन मिल्ने मन्त्रालयले जनाएको छ। 

नेपाल बाहिरबाट आएका व्यक्तिलाई सिधै होम क्वारेन्टाइनमा पठाउँदा कोरोना समुदाय स्तर फैलिन सक्ने भन्दै निर्देशनालयले सचेत गराएको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश व्यक्तिहरुसँग होम क्वारेन्टाइनमा विभिन्न सुविधा आवास नभएकाले होम क्वारेन्टाइन जोखिमपूर्ण हुने निर्देशनालयको भनाई छ।