सुदूरपश्चिममा थप ४५५ कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिममा थप ४५५ कोरोना संक्रमित डिस्चार्ज

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप चार सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट चार सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्।

मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सबैभन्दा बढि कैलालीका दुई सय ८७ र बाजुराबाट एक सय ६८ जना डिस्चार्ज भएको जानकारी दिए।

आईतबार चार सय ५५ जना डिस्चार्ज भएसँगै सुदूरपश्चिममा कोरोना जितेर आईसोलेसन तथा क्वारेन्टिनबाट घर फर्किनेको संख्या दुई हजार सात सय ५१ पुगेको छ।

प्रदेशमा एक हजार चार सय ७५ एक्टिभ केस रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ भने ८ जनाको मृत्यु भईसकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अछाममा ६ सय ६२, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको छ।