आगामी तीन दिन यी ठाउँमा बाढीको जोखिम

आगामी तीन दिन यी ठाउँमा बाढीको जोखिम

वर्षासँगै आजदेखि ३ दिन देशका केही ठाउँमा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज नारायणी नदीमा बहाव बढ्नुका साथै आसपासका सहायक नदीमा पनि खतरा रहेको बताइएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि दुई दिन नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीलगायत प्रदेश ५ भई बहने साना नदीमा बाढी आउन सक्नेछ। आगामी तीन दिन तटीय क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ। 

कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव बढ्दो हुने तर सतर्कता तह भन्दा तलै हुने जनाइएको छ। भोली कोशीमा बहाव बढ्दो हुने तर जोखिम भने मध्यम हुनेछ। नारायणी, कर्णाली , महाकाली र यसका सहायक नदीमा पनि बहाव बढ्नेछ। 

विभागका अनुसार पर्सि, १४ साउनमा कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्नेछ। महाकाली, कर्णाली र नारायणीको केही साना सहायक नदीमा बहाव सतर्कता आसपास पुग्नसक्ने अनुमान गरिएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने र पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना भएकोले भारी वर्षा हुने सम्भावनासहित बाढीको जोखिम बढेको हो।