कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगरमा अत्यावश्‍यक बाहेकका सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगरमा अत्यावश्‍यक बाहेकका सेवा बन्द

कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलनसक्ने जोखिम बढेपछि विराटनगर महानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

लकडाउन हटेसँगै संक्रमितहरू बढ्न थालेपछि सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने निर्णय गरिएको हो। हिजो साँझ महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले जोखिम न्यूनिकरणका लागि ती निर्णय गरेको हो। 

रोकथाम तथा नियन्त्रण गर्न महानगरले अनुगमन कार्यादल पनि बनाएको छ। कार्यालयमा हुने भीडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुनेतर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरेको छ। 

घरनक्सा पास, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नवीकरण जस्ता पछि गर्न मिल्ने खालका काम तत्काललाई बन्द गरिएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

त्यस्तै हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरूले अनिवार्य मास्क लगाउनुपर्ने, उल्लंघन गरेको पाइएमा जरिवाना गराउने र व्यवसाय बन्द गरिदिनेसम्मको निर्णय गरिएको छ। 

पछिल्लो समय प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत प्रहरी, विराट नर्सिङ होममा कार्यरत एक चिकित्सक र चारजना स्टाफ नर्समा संक्रमण देखिएको छ। 

मुख्यमन्त्री शेरधन राईले समेत समुदायमा कोरानो संक्रमण पुगिसकेको भन्दै सचेत रहन प्रदेश सभामा आग्रह गरेका थिए।