नेपालीले १ वर्षमै पड्काए ५८ करोडको विदेशी चुइङ्गम

नेपालीले १ वर्षमै पड्काए ५८ करोडको विदेशी चुइङ्गम

नेपालीहरुले एक वर्षमा करिब ५८ करोड रुपैयाँको आयातित चुइङ्गम पड्काएका छन्। नेपालीले भारतदेखि अमेरिकासम्मका चुइङ्गम आयात गरेर खाने गरेका छन्। 

आर्थिक वर्ष २०७६र७७ मा ५७ करोड ९७ लाख ३४ हजार रुपैयाँको चुइङ्गम आयात भएको छ। एक वर्षमा विभिन्न ११ देशबाट १८ लाख ३३ हजार ८ सय ३४ केजी चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांक छ। 

नेपालमा चीन, भारत, जापान, कोरिया, न्यूजिल्यान्ड, स्पेन, थाइल्यान्ड, टर्की, युएई, बेलायत र अमेरिकासहित ११ देशबाट चुइङ्गम आयात भएको तथ्यांक छ। गत वर्ष सबैभन्दा धेरै चुइङ्गम भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७६र७७ मा भारतबाट १७ लाख ९८ हजार ३ सय ९२ केजी चुइङ्गम आयात भएको हो। 

त्यस्तै भारतपछि अमेरिकाबाट धेरै चुइङ्गम आयात भएको छ। अमेरिकाबाट गत वर्ष २७ हजार ५ सय ३६ केजी चुइङ्गम आयात भएको थियो। चुइङ्गम आयातबापत राज्यले गत वर्ष ४२ करोड ८ लाख ३८ हजार रुपैयाँ राजस्व उठाएको थियो।