धनगढीदेखि टीकापुरको सत्तीसम्म हुलाकी सडक स्तरोन्नति गरिँदै

धनगढीदेखि टीकापुरको सत्तीसम्म हुलाकी सडक स्तरोन्नति गरिँदै

कैलाली । कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नतिको कार्य अघि बढेको छ ।  हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत सडक स्तरोन्नतिका लागि ठेक्का भई निर्माणकार्य अघि बढेको हो । धनगढीको क्याम्परोडदेखि तीन किलोमिटर सडक चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा सो सडकलाई स्तरोन्नति गरिने भएको जनाइएको छ । 

सो सडककको स्त्तरोन्नतिका लागि चार चरणमा ठेक्का गरिएको हुलाकी सडक आयोजनाले जनाएको छ । धनगढीको क्याम्पसरोडदेखि कनरीसम्म रु ३७ करोड, कनरीदेखि फूलबारीसम्म रु ३२ करोडको सम्झौता भएको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पद्म मडैले बताए ।

उनका अनुसार कान्द्रा नदीदेखि सत्तीसम्म रु ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ भने फूलबारीदेखि कटैनीसम्म रु २७ करोड ९६ लाख ७५ हजारमा सम्झौता गरिएको छ । यी सबै सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शौचन्दा जोशी जेभीले गत असार ३० गते ठेक्का सम्झौता गरेको छ ।

निर्माण कम्पनीले कार्यअघि बढाउन अहिले सर्भे गरिरहेको बताउँदै सूचना अधिकारी मडैले भने, ‘अहिले स्त्तरोन्नति हुन लागेको हुलाकी सडक विगतको भन्दा नयाँ प्रविधिबाट काम हुनेछ ।’ 

धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाइ अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ । अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाइ सात मिटर रहेको छ । पुरानो सडकलाई पनि अलकत्रा प्रविधिमार्फत नै स्तरोन्नति गरिने जनाइएको छ ।