प्रचण्डलाई पेस्तोल उपहार दिने मन्त्री लेखराज भट्ट खुमलटारबाट टाढिनुको रहस्य यस्तो !

प्रचण्डलाई पेस्तोल उपहार दिने मन्त्री लेखराज भट्ट खुमलटारबाट टाढिनुको रहस्य यस्तो !

झण्डै दुईतिहाइ बहुमत प्राप्त सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट र छलफल गर्ने इच्छा कसलाई हुँदैन ? पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूसँग खुमलटार पुगेर प्रचण्डसँग छलफल गरिरहन्छन् ।

नेकपाभित्रै यसभन्दा अलि उल्टो र अनौठो घटना पनि भएको छ । सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्ष प्रचण्डलाई भेटिरहेका छैनन् । छलफलका लागि खुमलटार आउन प्रचण्डले पटक–पटक आग्रह गर्दा समेत मन्त्री भट्ट गइरहेका छैनन् । मन्त्री भट्टलाई भेट्ने प्रचण्डको लामो समयदेखिको इच्छा अधुरै रहेको छ ।

कुनै बेला प्रचण्डका अत्यन्तै निकट विश्वासपात्र मन्त्री भट्ट भेटघाट र छलफल नै नगर्ने गरी किन बिच्किए ? यो विषय स्पष्ट पार्नुअघि मन्त्री भट्टको हालको अवस्था र अडानबारे चर्चा गरौं ।

बालुवाटारको भेलाबाट कित्ताकाट

नेकपाभित्रको आन्तरिक राजनीतिमा विवाद बढ्दै उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटी, प्रचण्ड निवास खुमलटार र वरिष्ठ नेता माधवकुमार नेपाल कोटेश्वरमा नेताहरूका भेला र बैठक भइरहेका बेला प्रधानमन्त्री ओलीले समेत गत बैशाख १५ गते बालुवाटारमा आफूपक्षीय नेताहरूसँग छलफल गरे ।

प्रचण्ड लगायत नेताहरूले ओलीको राजीनामा मागिरहेका बेला बालुवाटारमा भएको भेलामा सहभागी भए पूर्व माओवादी नेता तथा मन्त्री लेखराज भट्ट । प्रचण्डको ‘लाइन’ अनुसार बोल्ने र उनकै पक्षमा देखिएका नेता भट्ट एकाएक बालुवाटारको भेलामा सहभागी भएपछि पार्टीभित्रको राजनीति तरङ्गित बन्यो । नेता भट्टले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको राजीनामा दिन नहुने र अहिले सरकार परिवर्तन गर्ने बेला नभएको अडान राखे ।

त्यो भेलामा मन्त्री भट्ट सहभागी भएको विषयलाई त्यतिबेला खुमलटारले सामान्य रुपमै लियो । पार्टीका कतिपय नेताहरूले पनि सरकारमा सहमति मन्त्रीले प्रधानमन्त्रीले बोलाएको भेलामा सहभागी हुनु सामान्य नै भएको रुपमा बुझे । तर जब मन्त्री भट्ट मिडियामा नै आएर खुलेरै ओलीको पक्षमा बोल्न थाले, त्यसपछि खुमलटार झस्कियो ।

मन्त्री भट्टले प्रधानमन्त्रीमा ५ वर्ष नै ओली रहनुपर्ने, सरकार स्थिर हुनुपर्ने, प्रचण्ड लगायत नेताहरूले ओलीको राजीनामा माग्नु गलत र औचित्यहीन भएको, पदका लागि ओलीको राजीनामा मागिरहेको लगायत अडान मिडियामार्फत सार्वजनिक गरिरहेका छन् । यी अडान प्रचण्डको मत र विचारबाट १८० डिग्री विपरित छन् ।

नेता भट्टको मन दुखाउने प्रचण्डको त्यो बोली

तत्कालीन नेकपा माओवादी पार्टीमा नेता भट्टलाई प्रचण्डको सुदूरपश्चिमको मुख्य पिल्लरको रुपमा लिइन्थ्यो । माओवादीभित्रको अन्तर्संघर्षमा पनि नेता भट्टले सधै प्रचण्डलाई नै सघाउँथे । प्रचण्डले पनि नेता भट्टलाई सुन्थे । माओवादी सरकारमा सहभागी हुँदा मन्त्री भट्ट सुदूरपश्चिमको कोटाबाट पटक–पटक मन्त्री समेत भए ।

तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा नेता भट्टले प्रचण्डलाई पेस्तोल उपहार दिएको इतिहास माओवादीभित्र चर्चाको विषय बन्छ । यसबीच संविधान निर्माण हुँदाताका प्रदेशको सीमांकनका विषयमा नेता भट्टको अडान प्रचण्डभन्दा फरक रह्यो । नेता भट्ट अखण्ड सुदूरपश्चिमको पक्षमा खुलेरै बोले भने प्रचण्ड पार्टीको नीति अनुसार कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेश समावेश गर्नुपर्छ भन्नेमा देखिए । यसमा वैचारिक विवाद देखिएपनि प्रचण्ड–भट्ट सँगसँगै थिए ।

पार्टी एकीकरणपछि सरकार गठन हुँदा अध्यक्ष प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउन चाहे । प्रचण्डको चाहनामा लेखराज भट्टले समर्थन जनाए । बुहारी बिना मन्त्री बन्दा पूर्व माओवादी कोटाबाट मन्त्री बन्नेको सूचिबाट भट्टको नाम हट्यो । बिना मन्त्री भएपछि पार्टीका वरिष्ठ नेताहरूसँग छलफल गर्ने, पार्टीका सल्लाह र सिफारिश नमान्ने, सुदूरपश्चिममा छुट्टै गुट खडा गर्ने गरी गतिविधि हुन थालेपछि नेता भट्ट असन्तुष्ट थिए ।

मन्त्री लेखराज भट्टले बिना मगरको अपरिपक्वताले त्यस्ता गतिविधि भएको हुनसक्ने बुझाइका साथ उतिबेला आफूले गम्भीरताका साथ नलिएको आफू निकटलाई बताउने गरेका छन् । नेता भट्टको त्याग र समर्थनका कारण आफू कम उमेरमै पनि मन्त्री बन्न पाएको कुरा बिना मगरले बिर्सिइन् र मनपरी गर्न थालिन् भन्ने नेता भट्टको बुझाइ थियो । बिनाका गतिविधिबाट तरङ्गित नभई प्रचण्डसँग आफ्नो सम्बन्ध राम्रै रहेकोमा नेता भट्ट ढुक्क थिए ।

नेता भट्ट त्यतिबेला झस्किए, जतिबेला प्रचण्डले धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा सुदूरपश्चिमको नेता भीम रावल भएको अभिव्यक्ति दिए । ‘तत्कालीन माओवादी पार्टीभित्रै पनि सुदूरपश्चिम भनेर पछाडि पारियो, समकक्षी थुप्रै नेतालाई माथिल्लो नेतृत्वमा पु¥याइयो । तर सुदूरपश्चिमलाई पछाडि पारियो । पार्टी एकता भएपछि पनि झन् पछाडि पार्ने संकेत देखियो,’ मन्त्री भट्टले गर्ने गरेको गुनासो उदृत गर्दै स्रोतले भन्यो ।

त्यो अभिव्यक्ति मात्रै होइन, पार्टीमा भीम रावल र अध्यक्ष प्रचण्डको निकटता ज्यादै गरिहिँदै गएको देखियो । यसबीच नेता भट्टको असन्तुष्टि खुमलटारसम्म पुग्यो । प्रचण्डले त्यसलाई सम्बोधन गर्न नेता भट्टलाई मन्त्री सिफारिस गरे । हाल भट्ट उद्योग मन्त्री छन् । मन्त्री पदले नेता भट्टको दुःखेको मनमा मल्हम लगाउन सकेन । मन्त्री भट्ट खुमलटारबाट टाढिँदै बालुवाटार निकट बनेका छन् ।

पूर्व माओवादीभित्र विकल्प खोज्दै प्रचण्ड

मन्त्री भट्टले आफूलाई छाडेपछि प्रचण्ड पूर्व माओवादीभित्र सुदूरपश्चिममा नेतृत्व गर्ने नेता खोज्न थालेका छन् । सुदूरपश्चिमका सवालमा हालसम्म प्रचण्ड नेता भट्टमै केन्द्रित हुने गरेका थिए । अब भट्टको विकल्प खोज्दै प्रचण्डले नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, मन्त्री बिना मगर र मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग सामूहिक छलफल गरेका छन् ।

गत बुधबार खुमलटारमा भएको छलफलमा प्रचण्डले लेखराज भट्टबाट धोका पाएको अभिव्यक्ति दिएको जनाइएको छ । विगतमा सहइन्चार्ज खगराज भट्टलाई महत्त्व नदिने गरेको भएपनि लेखराजले छाडेपछि प्रचण्डले छलफल अगाडि बढाएका छन् ।

नेता लेखराज भट्टकै जोडबलमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट समेत अहिले लेखराजलाई छाडेर अर्काे धारमा लागेका छन् । नेकपाको राजनीतिमा पूर्व माओवादी समूहभित्र समीकरण फेरबदल भएको छ ।

-काठमाडौँपाटी बाट साभार