पार्टीको विवाद मिलाउन उपाध्यक्ष बामदेवको नयाँ प्रस्ताव यस्तो !

पार्टीको विवाद मिलाउन उपाध्यक्ष बामदेवको नयाँ प्रस्ताव यस्तो !

पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीको बिग्रहलाई रोक्न भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष उपाध्यक्ष गौतमले राखेको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ ।

यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।