सिटौला आज सांसद पदको शपथ लिँदै

सिटौला आज सांसद पदको शपथ लिँदै

जनता समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे उनलाई शपथ गराउँदै छन् ।  

सिटौलालाई बुधबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद् सचिवालयका सूचना अधिकृत दशरथ धमलाले जानकारी दिए ।

पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् । गिरीले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको र त्यसलाई संविधानको अनुसूचीमा समेट्न ल्याइएको संशोधन विधेयकको विरोध गरेकी थिइन् ।

संविधानको अनुसूची ३ मा रहेको निसान छापमा उक्त नक्सा राख्न विधेयकमाथि मतदान भएका दिन समाजवादीले पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको थियो । त्यसलाई गिरीले अस्वीकार गरेकी थिइन् ।

आफूमाथिको कारबाही पार्टी विधानविपरीत भएको दाबी गर्दै उनी सर्वोच्च अदालतसमेत पुगेकी थिइन् । तर, सर्वोच्चले गिरीका पक्षमा अन्तरिम आदेश दिन अश्वीकार गरेसँगै निर्वाचन आयोगले उनको ठाउँमा सिटौला निर्वाचित भएको पत्र संसद् सचिवालयलाई फठाएको थियो ।

ललितपुरनिवासी सिटौला पार्टीको खस महिला कोटाबाट सांसद बन्न लागेकी हुन् । उनी पार्टीको समानुपातिक सूचीमा गिरीभन्दा मुनि थिइन् ।