पछिल्लो एक बर्षमा ५७ अर्बको खाद्यान्न आयात

पछिल्लो एक बर्षमा ५७ अर्बको खाद्यान्न आयात

मुलुकमा पछिल्लो एक वर्षमा ५७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि गएको वर्ष सो रकम बराबरको खाद्यान्न आयात भएको हो । आर्थिक वर्ष २०७६-७७ मा चामल, गहुँ, मकै, कोदो र जौ गरेर ५६ अर्ब ८८ करोड ४३ लाख ७ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सो अवधिमा ३३ अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा ५१ अर्ब ८० करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न बढी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

धानको बीउ, धान, चामल, कनिकालगायतका वस्तुको आयातमा ३३ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक रहेको छ । यसमध्ये झण्डै २२ अर्ब रुपैयाँको धान–चामल भारतबाट आयात भएको छ । गएको वर्ष ९३ करोड ५९ लाख रुपैयाँको त कनिका मात्रै आएको छ । यस्तै ७ अर्ब ९० करोड रुपैयाँको गहुँ आयात भएको छ । यस्तै १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ बराबरको मकै आयात भएको भन्सार विभागले जनाएको छ ।

मुुलुक कृषिप्रधान देश भएपछि खाद्यान्नको आयात भने कम हुन सकेको छैन । स्थानीय उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न भित्रिएको हो । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गरेको छ । चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयात हुने गर्दछ ।

सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि अझै ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको छ । कृषि उत्पादन वृद्धि गर्न मल, बीउ, उपकरण र अनुदान व्यवस्था गरे पनि उत्पादन बढ्न नसक्दा बर्सेनि ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको छ ।