दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु

दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु

दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । 

बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा बुधवार बिहान करीब ३ः०० बजे घरमाथिबाट खसेको पहिराले घर पुरिँदा मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुष्मा नेपालीको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरे । घरमा रहेका ५ जनामध्ये अन्य ३ जना भने सकुशल रहेका छन् ।

सो घरमा मृतक बाटुकीका सासू, ससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका पतिको केही समयअघि मृत्यु भइसकेको बताइएको छ । 

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बंगलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा रहेका छन् ।

केही दिनयताको लगातारको बर्षातका कारण बंगलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।