कैलालीमा बाढी प्रभावितको उद्धार जारी, तीन जना घाईते

कैलालीमा बाढी प्रभावितको उद्धार जारी, तीन जना घाईते

धनगढी : कैलालीमा बाढी प्रभावितको उद्धारमा सेना सहितको टोली खटिएको भएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा नदीको बाढी वस्तीमा पसेर सयौं घर डुबानमा परेपछि प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएका हुन् ।

बाढीले स्थानीयको घर, अन्नपात र पशुचौपायालाई क्षति पुर्‍याएपछि सुरक्षाका लागि सेनासहितको संयन्त्र परिचालित भएको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। एक सय २० जनाको उद्धार टोली नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीबाट प्रभावित स्थानीय तहहरुमा गइसकेको उनले बताए ।

हिजो रातिदेखिको अविरल भारी वर्षाले कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरीया गाउँपालिका र धनगढी उप– महानगरपालिकामा बाढी र डुवान भएको छ।

कैलारी र भजनी क्षेत्रका डुवानमा परेका परिवार र पशुचौपायालाई हुलाकी सडक र सुरक्षित स्थानमा सार्ने काम भइरहेको जोशीले बताए । कैलारी गाउँपालिका वडा नम्वर ७ मा स्थानीय बलराम चौधरीको घरमाथि रुख खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले  घाइते भएका बलरामसहित उनकी श्रीमती सावित्री र १३ वर्षीया छोरी वसन्तीको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको बताए।