विश्वमा एकै दिन थपिए दुई लाख ९२ हजार भन्दा धेरै संक्रमित

विश्वमा एकै दिन थपिए दुई लाख ९२ हजार भन्दा धेरै संक्रमित

विश्वभर एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शुक्रबार एकै दिन विश्वभर दुई लाख ९२ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि जुलाई २५ मा दुई लाख ८६ हजार १६९ तथा जुलाई २४ मा दुई लाख ८५ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार अमेरिकामा ६५ हजार ४०६, ब्राजिलमा ६९ हजार ७४ तथा भारतमा ५५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो।

विश्वभर अहिलेसम्म एक करोड ७५ लाख १६ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ६ लाख ७८ हजार भन्दा बढीको ज्यान गएको छ ।

विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म ४५ लाख ५९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख ५३ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा २६ लाख ६२ हजार भन्दा बढीमा संक्रमण भएकोमा ९२ हजार चार सय भन्दा धेरैको ज्यान गएको छ।