पहिरोले डोटीको सायल गाउँ विस्थापित

पहिरोले डोटीको सायल गाउँ विस्थापित

डोटी : डोटीको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिराको उच्च जोखिममा भए पछि सिङ्गो गाँउ नै खाली भएको छ। गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ।

गएको शनिबार आएको ठूलो पहिराका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन्।

पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, मच्छर र जङ्गली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयवासी धर्मराज जोशीले बताए । उनले भने, ‘पूरै गाउँले पहिराको डरले गाउँ छोडेर जङ्गलको अग्लो डाँडामा पाल टाँगेर बसेका छन्, त्यहाँ सर्प, मच्छर र जङ्गली जनावरले उनीहरुलाई सताउने गरेको छ ।’

त्यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको सायल गाउँपालिका तोलेनीका अर्का स्थानीय तथा व्यापारी हिमाल बोहराले बताए।

उनले भने ‘विस्थापितलाई खानेकुरो त छोडौँ, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहर पानी प्रयोग गरेकाले पखाला हुने सम्भावना बढेको छ ।’ विस्थापित भएका परिवारहरुसँग केटा केटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन्।