घोडाघोडी नगरपालिका विरुद्ध उच्च अदालतमा मुद्दा

घोडाघोडी नगरपालिका विरुद्ध उच्च अदालतमा मुद्दा

धनगढी : बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा दायर गरिएको छ ।

कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित नगरपालिका विरुद्ध साउन ४ गते रेखा निर्माण सेवाले उच्च अदालत दिपायलमा मुद्धा दायर गरेको हो ।      

कोरोनाको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको र सोही अवधिको हुन आउने कर छुटको माग सहित उच्च अदालतमा मुद्दा दायर गरेको रेखा निर्माण सेवाका संचालक जनक शाहीले बताए ।

उनले सरकारले समस्यामा परेका ब्यवसायिहरुलाई सहयोग गर्नुको साटो झन समस्यामा पार्न थालेकाले न्यायको खोजीमा हिडेको बताए । शाहीले लकडाउनका कारण करिब ४० लाख बराबरको कर संकलन हुन नसकेको बताए ।

यता घोडाघोडी नगरपालिकाले भने देशमा घोषणा गरिएको लकडाउन अवधिमा पनि बालुवा, गिट्टी संकलनको काम नरोकिएको दाबि गरेको छ । लकडाउनमा पनि बालुवा, गिट्टी संकलन जारी रहेको र सोही अवधीमा नगर भित्र करिब ८५ प्रतिशत भौतिक निर्माणको काम भएको भन्दै प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले उक्त कर रकम छुट गर्न नसकिने बताए ।