देशभर कुन कुन जिल्लाले जारी गरे निषेधाज्ञा?

देशभर कुन कुन जिल्लाले जारी गरे निषेधाज्ञा?

कोभिड-१९ संक्रमण फैलन जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्थानविशेषमा भएको संक्रमणको अवस्था हेरीकन निषेधाज्ञा जारी गर्न थालेका छन्। बुधबारसम्म विभिन्न १४ जिल्लाले निषेधाज्ञा जारी गरेका छन्।

हालसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा जिल्लाका अधिकाश स्थानमा निषेधाज्ञा जारी गरिएको छ। यस्तै बारा, महोत्तरी, झापा, सुनसरी,  बझाङ, दार्चुला, स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ। सर्लाही, स्याङ्जा, सप्तरी, बाँके, पर्सा, र बारामा जिल्लाभरका क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। यस्तै अन्य जिल्लाका केही स्थान तोकी ती स्थानमा मात्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। 

निषेधाज्ञा जारी गरिएका स्थानमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा तथा उद्योग बन्द रहन्छन्। यस्तो बेला अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सूचना जारी गरेका छन्।  

सरकारले देशभर लागू हुने गरी जारी गरेको करिब ४ महिना लामो लकडाउन भने साउन ७ पछि हटेको थियो। संघीय सरकारले लकडाउन हटाउँदा स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न सक्ने गरी हटाइएको जानकारी दिएको थियो।