सुदूरपश्चिममा यी जिल्लामा निषेधाज्ञा र लकडाउन जारी

सुदूरपश्चिममा यी जिल्लामा  निषेधाज्ञा र लकडाउन जारी

 कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ। 

कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि विभिन्न पालिकामा निषेधाज्ञा र लकडाउन गरिएको हो। दार्चुलाको मर्मा गाउँपालिकामा र नौगाड गाउँपालिकाले एक वडाबाट अर्को वडामा प्रवेश बन्द गरेको छ। नौगाड गाउँपालिकाले सूचना जारी गर्दै वडा नम्बर ४ सिप्टीको पूरै गाउँमा मार्माबाट आवतजावत बन्द गराएको जनाएको छ।

बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यता, कञ्चनपुरको भीमदत्त नगरपालिका १२ र १३ को सीमानामा भारतबाट आएका र होम क्वारेन्टाइनमा बसिरहेका एक जनामा संक्रमण देखिएपछि वडालाई सिल गर्ने निर्णय गरिएको हो। कैलालीको कैलारी गाउँपालिकाले पनि कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन भोलीदेखि लकडाउन गर्ने भएको छ।

लकडाउनमा बजार व्यवसाय, सवारी साधन सञ्चालन लगायतका सेवा बन्द रहनेछन् भने अत्यावश्यक काम बाहेक मानिसहरुले हिडडुल गर्न नपाउने भएका छन्। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ३८ पुगेको छ। नौँ जनाको मृत्यु भईसकेको छ भने तीन हजार दुई सय ९१ डिस्चार्ज भएका छन्।