न्याय माग्दै कालोपट्टी बाधेर सडकमा सुतेर धर्ना

न्याय माग्दै कालोपट्टी बाधेर सडकमा सुतेर धर्ना

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी  १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारामाथि कारबाहीको माग गर्दै आन्दोलनरत महिला अधिकारकर्मीहरुले सडकमै सुतेर धर्ना दिएका छन । 

मगलवार उनीहरुले आखाँमा कालोपट्टी बाधेर सडकमै सुतेर धर्ना दिएका छन । 

निर्मलाले न्याय नपाएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरुले केहीदिनदेखि आन्दोलन सुरु गरेका थिए । 
आन्दोलन अन्तर्गत सोमवार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिईएको थियो । 

आन्दोलनका कार्यक्रम अन्र्तगत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने कार्यक्रम छ । 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २९ दिन बितिसकेपनि हत्या पत्ता लाग्न सकेको छैन भने अनिश्चितकालिन धर्ना सुरु भएको पनि करिव एक महिना पुग्नै लागेको छ । 

धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा गम्भीर समस्या आएपछि काठमाडौंमा उपचार भईरहेको छ । 

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो ।