‘सर्वसम्मतका लागि चलाईएको छलफल सकारात्मक तर, कठिन’

‘सर्वसम्मतका लागि चलाईएको छलफल सकारात्मक तर, कठिन’

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि तेस्रो समूहले चलाएको छलफल सकारात्मक तर, निकै कठिन रहेको पूर्व अध्यक्षहरूले प्रतिक्रिया दिएका छन् । 

उनीहरूले यसअघि सर्वसम्मतिका लागि लामो छलफल चलाइएको भए पनि उक्त प्रयास असफल भएको भन्दै हाल तेस्रो समूहले चलाएको छलफल पनि सफल हुनेमा आशङ्का व्यक्त गरेका हुन ।  

सर्वसम्मतिका लागि चलाइएको छलफलमा आफूहरू सकारात्मक रहेको र त्यसमा सहयोग गर्ने उनीहरूले बताएका छन् । 

सङ्घको वर्तमान कार्य समितिले पनि सघंको नेतृत्व चयनका लागि पूर्व अध्यक्ष लगायत सरोकारवालासँग छिट्टै छलफल गर्न लागिएको जनाएको छ । 

कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वार प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका बेला गत वैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनाव सदस्यता विवादको विषयमा मुद्दा परेपछि २० गते अदालतको आदेशपछि स्थगित भएको थियो । 

अदालतको आदेशपछि सदस्यता सकलनको कार्य सुरु गरेको छानबिन समितिले आइतबारदेखि सदस्यता छानबिनको कार्य सुरु गरेको भने अबको ५ दिनसम्म  छनविनको कार्य सम्पन्न गरिने जनाएको छ । 

सदस्यता छानबिनको कार्य अन्तिम चरणमा रहेका बेला व्यवसायी गजेन्द्र वीर चन्दको नेतृत्वमा तेस्रो समूहले सर्वसम्मतिका लागि छलफल चलाएको छ । 

उम्मेदवारी घोषणा गरेका दुई प्यानल भन्दा छुट्टै समूहले सर्वसम्मत रूपमा नेतृव चयनका लागि छलफललाई तीव्रता दिइरहेका बेला सङ्घका पूर्व अध्यक्षहरूले उक्त कदमलाई सकारात्मक तर, निकै कठिन रहेकोसंघका पूर्व अध्यक्ष कर्ण कुँवरले बताए । 

यसअघि पनि करिब २ महिनासम्म सर्वसम्मतिमा नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएका कारण पूर्वअध्यक्षहरूले सहमति हुनेमा आशङ्का गरेका हुन । 

चुनाव स्थगित हुनुभन्दा अगाडि चुनावका लागि मैदानमा उत्रिएका कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वार नेतृत्वको प्यानलले धेरै पैसा खर्च गरिसकेको भएका कारण उम्मेद्वारहरु पछि हट्छन् कि हट्दैन भन्ने प्रश्न उनीहरूको छ । तर, त्यसमा आफूहरूको सहयोग रहने पनि उनीहरूले प्रतिबद्धता जनाएका छन् । 

त्यसैले सर्वसम्मतिका लागि लागि छलफल चलाई रहेको चन्द नेतृत्वको तेस्रो समूहले यसअघि चुनावमा उत्रिएका समूहलाई मनाउन केन्द्रित हुनुपर्ने सङ्घका पूर्व अध्यक्ष गोपाल हमाल बताउछन । 

सर्वसम्मतिका लागि छलफल चलाएको तेस्रो समूहले हालसम्म सङ्घका पूर्व अध्यक्षसँगै वर्तमान कार्यसमितिसँग पनि छलफल गरिसकेको छ । 

उक्त कुरा सकारात्मक भएको र वर्तमान कार्य समितिले त्यसका लागि केही दिनमै सङ्घका पूर्व अध्यक्षसँगै चुनावी मैदानमा उत्रिएका दुई प्यानल सहित सरोकारवालासँग छलफल गर्ने तयारी गरेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर बोगटीले जानकारी दिए ।