हरिबहादुरसँगको घम्साघम्सीमा मारियो चितुवा

हरिबहादुरसँगको घम्साघम्सीमा मारियो चितुवा

बेंसीसहर नगरपालिका ७, साम्दीका ६९ वर्षीय हरिबहादुर थापा आइतबार बिहान खेत डिलैको खनियो घाँस काटेर फर्किए । घरमाथि जंगलबाट बाँदरको आवाज आइरहेको थियो । धपाउन भनी उनी खेततिर गए ।

करिब १५ मिटर परको खलेगरा नजिकै धानका बोट हल्लियो । बाँदर आएछन् भनी उनी धपाउँदै गए । एक्कासी चितुवा डिलमा उक्लिएर उनीमाथि आक्रमण भयो । हरिबहादुरका अनुसार यो बिहान करिब पौने ८ बजेतिरको घटना हो ।

‘म हैट, हैट गर्दै अघि बढ्दै थिएँ । खेतको डिलमा उक्लिएको चितुवा एक्कासी म माथि जाइलाग्यो । मैले न गुहार भन्ने मौका पाएँ, न केही सोंच्न नै सकें’ उनले भने, ‘एक्कासी कोपार्न आएको चितुवाले मलाई लडायो । हातमा हँसिया थियो । अन्दाधुन्द हानेँ । चितुवाको टाउको र मुखमा लागेछ । मैले भाग्ने प्रयास गरेँ । चितुवाले झनै झम्ट्यो । मैले फेरि हँसियाले अन्दाधुन्द हानें । पछि चितुवा गल्यो ।’ उनका अनुसार १० देखि १५ मिनेटजति घम्साघम्सी भएकोमा चितुवा विस्तारै गल्न थाल्यो । चितुवा केही पर गएर लम्पसार पर्‍यो । उनी दौडेर चिच्याउँदै घर आए । उनले चितुवा मरेको लख काटे ।


नेपाली सेनाका पूर्वलप्टन हरिबहादुर चितुवासँग भिडेको उत्तरार्द्धमा मात्रै घरपरिवारले थाहा पाए । घरपरिवार तीजको पञ्चमीको दिन पूजापाठमा व्यस्त थिए । उनी घर फर्किएपछि के भयो भन्दै छिमेकी आएको उनले सुनाए । ‘चितुवा मारेर आएपछि म अलिअलि डराएछु । मै मरेको भए के हुन्थ्यो रु भन्ने पनि सोचेँ,’ उनले भने । चितुवासँग लड्दा उनले कहाँ चोट लाग्यो भनेर केही भेउ पाएनन् । ‘घर आएँ । त्यसपछि कहाँ कहाँ चोट लाग्यो भनेर हेरेँ । सबै छिमेकी झुम्मिए’, उनले भने, ‘पाखुरामा नङले गहिरो चोट पुर्‍याएछ । हातखुट्टा, घुँडा र ढाडतिर चोट लागेको रहेछ । कतै चिथोरे होला, कतै टोके होला,’ उनले भने ।

आफूले थाह पाउँदासम्म दिउँसो चितुवा गाउँ पसेको यो पहिलो घटना रहेको हरिबहादुरले बताए । उनका अनुसार चितुवा आहरा खोज्दै बस्तीमा आएको हुनुपर्छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले बताएको छ ।

सव डिभिजन वन कार्यालय बेंसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार वृद्धलाई आक्रमण गर्ने चितुवा डेढ वर्षको पोथी चितुवा हो । मारिएको चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडिएको छ ।