कैलाली निषेधाज्ञा सातौं दिन : धनगढीमा मानिसहरुको आवतजावत बढ्यो

कैलाली निषेधाज्ञा सातौं दिन : धनगढीमा मानिसहरुको आवतजावत बढ्यो

धनगढी : कैलालीमा निषेधाज्ञाको ७ औं दिनमा सडकमा मानिहरुको आवतजावत बढेको छ । कोरोना संक्रमण कम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले गत बिहिबारदेखि १४ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

पहिलो दिन धनगढीका सडकहरु सुनसान देखिए पनि आजभोली भिडभाड बढ्न थालेको हो । समुदायस्तरमै कोरोना संक्रमण फैलिएकाले नागरिकहरुलाई अनावश्यक रुपमा हिडडुल नगर्न प्रशासनले आग्रह गर्दै आएको छ ।

तर नागरिकहरु भने आवतजावत गरिरहेका छन । यसले गर्दा झनै कोरोना संक्रमण फैलिन सक्ने त्रास बढ्को छ । जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीका अनुसार बैंकहरु खुल्ला हुने भएकाले बैंक जानेहरुको संख्यामा बृद्धि भएको हो ।

आफुहरुले चेकजाँचमा कडाई गरेको भएता पनि बैंक जाने नागरिकहरुलाई अवरोध नगर्न आदेश आएकाले भिडभाड बढ्दै गएको उनले बताए । साथै निषेधाज्ञा अवधिभर सयौं सवारी साधनहरुलाई कारवाही गरिएको ठकुराठी बताए ।

धनगढीको मुख्य सडकका पसलहरु भने पूर्ण रुपमा ठप्प छन । यस्तै धनगढीमा दिउसोको तुलनामा साँझपखको समयमा झनै मानिसहरुको चहलपहल बढेको देख्न सकिन्छ । धनगढी लगायत सुदूरपश्चिम प्रदेशमा दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गएको छ ।