सुदूरपश्चिममा आज थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६९४ पुग्यो

सुदूरपश्चिममा आज थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६९४ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा गगरिएको परिक्षणमा ५ जनागरी ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका मात्रै १२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टमा परिक्षण गरिएका ४९२ नमुनामध्ये १२ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका मात्रै ५ जना महिला र ७ जनामा पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले गोदावरी नगरपालिका वडा नम्बर ३ का ३ महिला र ६ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै धनगढी उपमहानगरपालिकाका २ महिला र एक पुरुष गरी ३ जनामा संक्रमण देखिएको सुचनाअधिकारी श्रेष्ठले जानकारी दिए । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका ३४८ नमुनाहरुमध्ये १९ जनामा संक्रमण देखिएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४८ नमुनाहरुमध्ये १९ जनाको रिपोर्ट पोजेटिभ र ३२९ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, मेलौली नगरपालिकाका ३ जना र शिबनाथ गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै डोटीको जोरायल गाउँपालिकाका एक जना र बझाङको जयपृथवी नगरपालिकाका एक जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए । यसैगरी डोडी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाको शिखर नगरपालिका वडा नम्वर ४ का चार जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ।