भीमदत्त राजमार्ग आसपासको वन अतिक्रमण हटाइँदै

भीमदत्त राजमार्ग आसपासको वन अतिक्रमण हटाइँदै

डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग आसपासको वन अतिक्रमण हटाएको छ। गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचना  भत्काउने कार्य सुरु गरिएको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए। उनले अनुसार बिहीबार वन अतिक्रमण गरी बनाइएका ३० वटा भौतिक संरचना हटाइएको छ।

गोदावरी नगरपालिका–४ मा पर्ने भीमदत्त राजमार्गको छेउछाउमा वन अतिक्रमण गरी व्यापार व्यवसाय गर्न बनाइएको भौतिक संरचना हटाइएको कँडेलले बताए। 

उनले भने, ‘‘पहिलेदेखि नै हामीले पटक–पटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौं। हटाएको भोलिपल्ट नै आएर बसी हाल्छन्।’ यसअघि पनि वन कार्यालयले सोही स्थानमा पटक–पटक भौतिक संरचना भत्काउँदै आएको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वन माफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको स्थानीयको भनाइ छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार बढी  हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ।