गौरीफन्टा नाकामा "रेड लेबल माग्ने" सशस्त्रका इन्सपेक्टर जिल्ला तानिए,छानविन समिति गठन

गौरीफन्टा नाकामा "रेड लेबल माग्ने" सशस्त्रका इन्सपेक्टर जिल्ला तानिए,छानविन समिति गठन

धनगढी : गौरीफन्टा नाकाबाट भारतीय नागरिकलाई आर्थिक लाभमा परेर नेपाल प्रबेश गराएको आरोप लागेपछि सशस्त्र प्रहरी निरिक्षक शैलेन्द्रसिंह चैसिर जिल्ला तानिएका छन । बिहिबार उनले आर्थिक लाभमा परेर भारतीय नागरिकलाई नेपाल प्रबेश गराएको आरोप लागेपछि जिल्ला तानिएका हुन । 

गौरीफन्टा नाका क्षेत्रमा खटाइएका उनलाई जिल्ला तानेर आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल नम्वर ३५ गण झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्रसिंह ऐरले जानकारी दिए । सशस्त्र प्रहरी निरिक्षक चैसिरले भारतीय नागरिकलाई आर्थिक लाभ लिएर प्रवेश अनुमती दिदै धनगढी पठाएको आरोप लागेको थियो।

सशस्त्र प्रहरी नायव उपरिक्षक देव चन्दको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको सशस्त्र प्रहरी बल नम्वर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए । गोरीफन्टा नाकामा चैसिरको स्थानमा सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनलाई खटाइएको छ ।

बुधवार सम्म गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कैलालीको सुरक्षा टोली खटिएको थियो भने बुधवार साँझदेखि कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।